
काठमाडौँ । नेपाल प्रहरीका केही डीआईजी र केही एसएसपी सरुवाको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही हप्तादेखि ‘पेण्डिङ’ मा छ ।
अहिले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री बालेन्द्र शाहले आफै सम्हालेका छन् । सचिवालयस्रोतका अनुसार प्रहरी नेतृत्वसँग समन्वय नहुँदा सरुवा प्रभावित भएको हो ।




विवादमा मुछिएका मधेश र सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख (डीआईजी), काठमाडौँसहित विभिन्न तालिम केन्द्रका एसएसपीहरुको सरुवा गर्नुपर्ने कुरा समन्वय अभावमा रोकिएको हो ।

प्रहरीका एसपीसम्मको सरुवाको अधिकार आईजीपीसँग हुन्छ । एसएसपी र डीआईजीको गृह मन्त्रालय तथा एआईजीको सरुवा मन्त्रिपरिषद् बैठकले गर्ने व्यवस्था छ ।
एसपीसम्मको सरुवा अधिकार भए पनि आईजीले विभागीय मन्त्री र सचिवसँग समन्वय गर्ने प्रचलन छ । वैशाखमै गर्नुपर्ने कतिपय सरुवा समन्वय अभावका कारण जेठ १ गते गरिएको थियो ।
उक्त मितिमा ४६ एसपी र १४९ डीएसपीको सरुवा भएको थियो । प्रधानमन्त्री सचिवालयका अनुसार उक्त सरुवाका निम्ति आईजी दानबहादुर कार्कीले प्रधानमन्त्रीसँग समन्वयका निम्ति प्रयास गरेका थिए । तर, समय पाएका थिएनन् ।
उनले गृह सचिव राजकुमार श्रेष्ठसँग भने समन्वय गरेका थिए । प्रधानमन्त्रीसँग समन्वय हुन नसक्दा रास्वपा सभापति रवि लामिछानेसँग सल्लाह गरेको प्रहरीस्रोतले जनाएको छ ।
मधेश प्रदेशका डीआईजी गोविन्द थपलिया विभिन्न संदिग्ध व्यक्तिसँगको आर्थिक कारोबारमा विवादमा मुछिएका छन् । त्यहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीआईजी शेखर खनाल सरुवाका निम्ति प्रस्तावित छन् । अख्तियारमा उपत्यका प्रहरी कार्यालयमा कार्यरत डीआईजी ओम अधिकारी प्रस्तावित छन् ।
कमजोर कमाण्डका कारण सुदूरपश्चिम प्रदेशका डीआईजी ओमबहादुर रानालाई हेडक्वार्टर तान्ने र त्यहाँ हेडक्वार्टरबाट अर्का डीआईजी सानुराम भट्टराई प्रस्तावित छन् ।
काठमाडौँका लागि रस्साकस्सी
एक वर्षको नियमित कार्यअवधि पूरा नभए पनि काठमाडौँ जिल्ला प्रहरी प्रमुख फेर्ने तयारी छ । त्यहाँ अहिले एसएसपी रमेश थापा कार्यरत छन् । तर, कार्य अवधि बाँकी हुँदैमा उनलाई के कारण देखाएर फेर्ने भन्ने अहिलेसम्म तय नभएको गृह मन्त्रालयस्रोतले जनाएको छ ।
ललितपुरमा पनि एसएसपीको नियमित कार्यअवधि पूरा भएको छैन । त्यहाँ एसएसपी होविन्द्र बोगटी कार्यरत छन् । अहिले काठमाडौँ र ललितपुरमा सरुवा हुनका निम्ति एसएसपीहरुका बीचमा रस्साकस्सी सुरु भएको छ । ती दुवै जिल्लामा भदौ २३–२४ को जेन–जी आन्दोलनपछि प्रहरी प्रमुख फेरिएका थिए ।
स्रोतका अनुसार, प्रधानमन्त्रीको सचिवालय, गृह मन्त्रालयदेखि प्रहरी आईजी सचिवालयले पनि आआफ्ना दावेदार खडा गरेका कारण एसएसपी सरुवा विलम्ब भएको हो ।
सएसपी सरुवा गर्ने अधिकार गृह सचिवसँग हुन्छ । उनले विभागीय मन्त्रीसँग समन्वय गर्नुपर्ने प्रचलन छ । तर, गृह मन्त्रालयको कार्यभार सम्हालेका प्रधानमन्त्री शाह प्रहरी सरुवाप्रति त्यति रुची देखाइरहेका छैनन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका लागि एसएसपीहरु दयानिधी ज्ञवाली, दिलिप घिमिरे, शिवकुमार श्रेष्ठ, अजय केसी चर्चामा छन् ।
विगतमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अधुरो रहेका कारण हाल केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) मा कार्यरत श्रेष्ठलाई त्यहाँ पठाउने चर्चा भइरहेको छ ।
ललितपुरका लागि पनि तिनै एसएसपीमध्येबाट पठाइने सम्भावना छ । जो काठमाडौं सरुवा हुन्छन्, तीपछिका एसएसपी ललितपुर जिल्लाका लागि दावेदार मान्ने गरिएका छन् ।
लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलका एसएसपी सन्तोषसिंह राठौर, कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरका गोविन्द अधिकारी, बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली, सिन्धुलीका प्रभुप्रसाद ढकाल, युक्ति तालिम महाविद्यालय, जर्गाहा, बर्दघाट सुस्ता पश्चिमका अनुपमसमशेर जबरा, लागुऔषध नियन्त्रण व्युरोका कृष्णप्रसाद कोइराला, मानव बेचबिखन अनुसन्धान व्युरोका कृष्णप्रसाद पङ्गेनी पनि सरुवा हुने चर्चामा छन् ।