जनकपुर ।मुलुकको मुख्य प्रवेशद्वार बीरगंज लगायत पर्साका विभिन्न ठाउँमा सवारी व्यवस्थापनका लागि खटिने ट्राफिक प्रहरीले नै अवैध असुली धन्दा चलाइरहेका छन् । त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगंजका परवानीपुर, पावरहाउस, गण्डकर हुलाकी सडकमा पर्ने तिलावेपुल र बहुआर्वा भाठा लगायतका सडकमा चल्ने भारतीय सवारीसाधनसँग ट्राफिक प्रहरी कार्यालय पर्सा मातहतबाट खटिने प्रहरीले चेकजाँचका नाममा अवैध रकम असुल्ने गरेको गुनासो छ । वीरगञ्ज भन्सार कार्यालय, आईसीपी र सुख्खा बन्दरगाहबाट बिभिन्न उद्योगका लागि आयात हुने कच्चा पदार्थ ढुवानी गर्ने सवारीसाधनहरुबाट ट्राफिक प्रहरीहरुले अवैध असुली गर्दै आएका छन् ।
ग्रामीण एरियाबाट धान लोड भई आउने ट्याक्टरका चालकहरुसँग प्रतिगाडी १ सयदेखि २ सय रुपैयाँसम्म घुस लिने गरिएको छ । ट्याक्टरमा धान लोड भएर आउने ट्याक्टरसँग पोखरिया, तिलावे पुलमा रोकेर अनावश्यक झन्झट दिई घुस असुली गर्ने गरिएको चालकहरुको गुनासो छ । यतिमात्र हैन, भारतीय नम्बर प्लेटका निजी सवारी कार, पिकअप, मोटरसाइकल चालकबाट लाइसेन्स, ब्लु बुक लगायतका कगजात माग्ने र घुस दिए कर नतिरेको वा कागजपत्र नभए पनि रसिद नै नकाटी भरेर छोड्ने गरेका छन् ।
सरकारी तलब खाएर, कानुनको कार्यान्वयन गराउन प्रतिबद्ध रहेको ट्राफिक प्रहरीले पर्सामा सवारी चालकहरुलाई आतंकित पारेको छ । मासिक र दैनिक रुपमा असुलीको नियम बनाएर ट्राफिक प्रहरीहरुले अबैध रकम उठाइरहेको सवारी चालकहरु बताउँछन् ।
सवारीसाधनका चालकहरु तथा एजेन्टमार्फत परवानीपुर चौकस्थित ट्राफिकका असई ईन्दर मगरको कमाण्डमा खटिने प्रहरीले अवैध असुली गरिरहेको स्रोतको दावी छ । असई मगरको निर्देशनमा एक ट्राफिक प्रहरीले परवानीपुर स्थित रहेक कलकारखानाहरुबाट पैसा उठाउन भ्याईनभ्याई रहेको छ।प्रत्येक २ महिनामा परवानीपुर युनिटका ट्राफिक प्रहरी परिवर्तन हुने गरेका छन् ।
दिनमा हजारौं हजार सवारी साधन ओहोर दोहोर गर्ने उक्त ठाँउहरुमा सवारीचालकहरुले ट्राफिकको यस्तै नियति व्यहोर्नु परिरहेको पर्साका गाउँबाट धान ढुवानी गर्ने एक पीडित बताउँछन् । परवानीपुर चोक सडक भएर आउजाउ गर्ने सवारी साधनका चालकसँग ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीहरुले अनेक बहानामा रकम असुल्ने र रकम नदिए दुःख दिने गर्दै आएको उनीहरुले गुनासो गरेका छन् ।
त्यसैले पनि अहिले मालवाहक ट्रक, ट्यांकर तथा ट्रिपर व्यवसायीहरू ट्राफिकसँग आजित बन्न थालेका छन् । भारतबाट आउने मालवाहक ट्रकहरुमध्ये अधिकांश सवारी साधन ओभरलोड नै आउने गर्छन् र ट्राफिकसँग समन्वय गरी एजेन्टहरुले मालवाहक सवारीका साहुसँग ठेक्का मिलाई पास गराउँदै आएका छन् ।भन्सार कार्यालय आईसीपी तथा सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट सामान लिएर छुटेका बिशेष गरी भारतीय मालवाहक ट्रक तथा लहरीहरुसँग ट्राफिक प्रहरीले सामान र भार हेरेर एक सय देखि ३० हजार रुपैयाँसम्म असुल्ने गरेको प्रमाण भेटिएको छ ।त्यसैगरी ट्राफिक प्रहरीसँग समन्वय गरी सवारी छुटाउने दलालहरुले पनि प्रतिगाडी १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म लिई ट्राफिक र दलालहरुले भागबण्डा मिलाउने गरेको पनि खुलेको छ । दलालहरुबाट समन्वय गरेका गाडीहरुलाई भने ट्राफिक प्रहरीले बिना चेक जाँच काउन्ट गरेर पठाउने गरेको चोकमा बस्ने जो कोहीले पनि देख्न सक्छ । तर, एजेन्ट दलालहरुको चपेटामा नपरेका र आफूखुसी आउने गाडीका चालकहरुलाई भने ट्राफिक प्रहरीले दुख दिने गरेका एक चालकले नाम नखोल्ने सर्तमा बताए । अहिले ट्राफिक प्रहरीको चेकजाँचको नाममा पैसा असुल्ने रणनीतिका कारण ड्राइपोर्ट बहुअरी, पावरहाउस चोक, गण्डक र परवानीपुर सडकखण्डमा सवारी जामसमेत हुने गरेको छ ।ट्राफिक प्रहरी कार्यालय पर्सा मातहत रहेको परवानीपुर, गण्डक, पोखरियामा गोपी यादव लगायतका युनिट इन्चार्जहरूले अबैध असुली गरेको रकमबाट कमाई हुने ठाउँ अनुसार माथि हिस्सा बुझाउने गरेका छन्।
यस्तो गतिविधि तर्फ मधेस प्रदेशका प्रमुख डिआईजी र ट्राफिकका एसपी र ईन्सपेकटरको ध्यान जान यति आवशयक देखिएको छ।