जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका १ इनरुवा र जनकनन्दनी गाउँपालिका ६ कठल जोड्ने झोलुङ्गे पुल नजिकै एक व्यक्तिबाट लाखौं रुपैया नगद र चेक लुटपाट गरिएको छ ।
इनरुवाबाट मोटरसाइकलमा पैसा लिएर सघरातर्फ जाँदै गर्दा अजय गोइतको २ लाख २५ हजार रुपैयाँ नगद, १० लाखको चेक र एक आइफोन मोबाईल लुटेराले लुटेर फरार भएका छन् । अनटेस्ट मोटरसाइलमा सवार तीन लुटेराले आफूलाई रोकेर लुटपाट गरी भागेको पीडित गोइतले बताए ।
लुटिएका पीडित गोइतले तत्कालै ईलाका प्रहरी कार्यालय खजुरीलाई जानकारी गराएका बताए । लुटेराहरुलाई चिन्न नसकेको उनको भनाई छ ।
खजुरीका प्रहरी निरीक्षक बबिन्द्र नेवाङले लुटेराहरु इनरुवातर्फ फरार भएको पीडितबाट जानकारी पाएको र सो क्षेत्रमा खोजतलास तथा चेकजाँच जारी राखेको जानकारी दिए ।