2025-07-06

Close

सिरहा । असार सकिँदासम्म पनि सिरहाका अधिकांश खेतहरू अझै सुक्खै छन् । समयमै वर्षा नहुँदा र आवश्यक रासायनिक मलको अभावले धान रोपाइँ प्रभावित बन्दै गएको छ ।

खेत जोतिए पनि पानीको अभावले रोपाइँ थाल्न नसकेका किसानहरू आकाशतिर हेर्दै पानीको प्रतीक्षामा छन् । देशका अधिकांश स्थानमा असार लागेसँगै मनसुन सक्रिय भए पनि मधेसमा भने अझै पर्याप्त वर्षा नहुनु किसानहरूका लागि चिन्ताको विषय बनेको छ ।

सिरहाका लहान नगरपालिका–२३ का किसान रामकुमार यादव भन्छन्, “समयमै बर्खा नहुँदा रोपाइँ नै गर्न पाइएन । खेत जोतेर बीउ तयार पारेको धेरै भइसक्यो, तर न पानी पर्‍यो, न मल पाइयो । अब पानी परेपछि मात्रै खेतमा काम अघि बढ्छ ।”

उनका अनुसार, यसपटक असार सुरू भएदेखि नै वर्षा कमजोर रहेकाले खेत सुकेका छन् । बोरिङ गर्ने सुविधा नभएकाले आकाशेपानीकै भर पर्नुपरेको छ । “अहिले रोपाइँको सबैभन्दा संवेदनशील समय हो, तर बजारमा डिएपी मल पाइँदैन । मल नहुँदा बीउ छर्ने समयमा धानलाई बढ्न आवश्यक पोषण दिन सकिन्न । यसले उत्पादनमा ठूलो असर गर्छ ,” उनले दुःखेसो पोखे ।

आकाशेपानीकै भरमा किसान
तराईका धेरैजसो जिल्लाजस्तै सिरहाका किसान पनि आजसम्म सिँचाइको भरपर्दो व्यवस्था नहुँदा आकाशेपानीमा भर पर्न विवश छन् । “पहिला–पहिला असारको सुरूमा नै पानी पथ्र्यो, तर अब त कहिले पानी पर्छ, कुनै ठेगान छैन,” लहान–१९ का किसान प्रदीप यादवले गुनासो गरे ।

कृषि ज्ञान केन्द्र, सिरहाका सूचना अधिकारी किरण विश्वकर्माका अनुसार, जिल्लामा कूल ५४ हजार हेक्टर धान खेतीयोग्य जमिन रहेकामा हालसम्म मात्र १८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । उनले भने, “अहिलेसम्म भएको रोपाइँ पनि अधिकांश किसानले बोरिङमार्फत गरेका हुन् ।”

यदि चाँडै पर्याप्त पानी नपरे बाँकी रोपाइँ ढिलो हुने र यसको प्रत्यक्ष असर उत्पादनमा पर्ने कृषि विज्ञहरूको भनाइ छ । तर, मौसमविद्हरूका अनुसार मधेसका सबै स्थानमा मनसुन पूर्ण रूपमा सक्रिय हुन अझै केही दिन लाग्नेछ ।

डिएपी मलको अभाव
पानी मात्र होइन, रोपाइँको अर्को बाधक बनेको छ, रासायनिक मल अभाव । कृषि सामग्री कम्पनी लिमिटेड, लहानका प्रबन्धक दीपक पौडेलका अनुसार, रोपाइँका लागि आवश्यक पर्ने पाँच हजार मेट्रिक टन डिएपी मलमध्ये हालसम्म मात्र आठ सय २५ मेट्रिक टन मात्र आपूर्ति भएको छ ।

“दक्षिणी भेगका किसानहरू सिँचाइका लागि मोटरको भरमा छन्, तर मल छैन”, प्रबन्धक पौडेलले भने, “गत वर्ष तीनपटक मल वितरण गरिएको थियो, तर यस वर्ष अहिलेसम्म एकपटक मात्र गरिएको छ । साउनको पहिलो हप्तामा मल आएन भने कार्यालयमै किसानको चाप बढ्ने देखिन्छ ।”

डिएपी मलको अन्तरराष्ट्रिय मूल्य वृद्धि र टेन्डर घाटाको डरका कारण मल आपूर्तिमा ढिलाइ भएको प्रबन्धक पौडेलको भनाइ छ । “अब कृषि मन्त्रालयले वैकल्पिक उपायबाट मल ल्याउने पहल गर्न आवश्यक छ”, उनले सुझाव दिए । युरिया र पोटास भने कार्यालयमा पर्याप्त रहेको उनले जानकारी दिए ।

समयमै रोपाइँ सम्पन्न भए आगामी बाली गहुँ, तोरी, सागसब्जीलगायतमा पनि राम्रो प्रभाव पर्ने नेपाल राष्ट्रिय कृषक समूह सिरहाका अध्यक्ष प्रदीप सिंह दनुवारको भनाइ छ । सरकारले समयमै मल आपूर्ति र दीर्घकालीन सिँचाइ समाधानमा ध्यान नदिए किसानको वर्षभरको मेहनत खेर जाने खतरा बढ्दै गएको उनले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर