
जनकपुरधाम । धनुषाको महिनाथपुरस्थित नेपाल-भारत सीमावर्ती क्षेत्रमा रासायनिक मल तस्करी गर्ने समूह भारतीय सीमा सुरक्षा बलको हतियार लुट्ने प्रयास गरेको छ ।
महिनाथपुर बजारस्थित दशगजापारि (भारततर्फ) खटेका एसएसबी जवान र रासायनिक मल तस्करी गर्ने समूहबीच झडप भएको हो । झडपको क्रममा एसएसबीको हतियार लुट्ने प्रयास गरिएको थियो । सो क्रममा एसएसबीले गोली चलाएका छन् ।






एसएसबीको गोली लागेर एकजना घाइते भएका छन् । स्थानीयका अनुसार भारतीय नागरिक भरत पासवानलाई गोली लागेको हो । तस्कर समूहका एकजनालाई एसएसबीले नियन्त्रणमा पनि लिएको छ ।
एसएसबीको हतियार लुट्ने प्रयास गरिएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरहल बनिरहेको छ । भिडिओमा एक एसएसबी जवान लडेका छन्, अनी उनको हातमा रहेको हतियार एकजना खोस्ने प्रयास गर्दैछन् । भिडिओमा एक व्यक्तिले हतियार नखोस्न विन्ती गरिरहेको आवाज सुनिन्छ ।
मधेशमा पर्याप्त मल आपूर्ति सरकारले नगर्दा तस्करले भारतीय रासायनिक मल भित्र्याउने गर्छन् । भारतीय तस्करले नै नेपाल पार गरेर किसानबाट महँगो मूल्यमा रासायनिक मल बेच्दै आएको स्थानीय बताउँछन् ।
मल तस्कर र एसएसबीबीच झडप भएपछि अहिले महिनाथपुर क्षेत्रमा सुरक्षा अवस्था कडा पारिएको छ । आज दिउँसोबाट नेपालीलाई समान भित्र्याउन रोक लगाएको छ ।