जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–३ मा वर्षौँदेखि अलपत्र अवस्थामा रहेको सडकको पिसीसी ढलान कार्य सुरु गरिएको छ ।
धनुषा निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचित मधेश प्रदेशसभा सदस्य लखन दासले मंगलबार उक्त सडक निर्माण कार्यको शिलान्यास गरेका हुन् ।
हुलाकी राजमार्गको गर्दनिया चौकदेखि गोबराहीको कालिमन्दिरसम्मको यो सडक लामो समयदेखि जीर्ण अवस्थामा रहेको थियो ।
स्थानीयको वर्षौँदेखिको मागलाई सम्बोधन गर्दै मधेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट २५ लाख रुपैयाँ बजेट विनियोजन भएसँगै सडक निर्माण थालिएको हो ।
शिलान्यास कार्यक्रममा बोल्दै सांसद दासले दुहबी, गोबराही र करमाही क्षेत्रका स्थानीयवासीलाई हुलाकी राजमार्गसम्म सहज पहुँच बनाउने उद्देश्यले सडक निर्माण अघि बढाइएको बताए । ‘वर्षौँदेखिको माग पूरा हुँदैछ, अब स्थानीयवासीलाई आवतजावतमा ठूलो सहजता मिल्नेछ,’ उनले भने ।
सांसद दासले विकास निर्माणमा ढिलासुस्ती हुन नदिन समयमै गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिएका छन् ।
सडक निर्माणले स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ । स्थानीयवासीले सडक निर्माणले आफूहरूको दैनन्दिन जीवन सहज हुने भन्दै प्रदेश सरकारप्रति आभार व्यक्त गरेका छन् ।
उक्त शिलान्यास कार्यक्रममा विदेह नगरपालिकाका नगर प्रमुख बेचन दाससहित स्थानीय सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।