श्रीपुर इन्स्पेक्टर बस्नेतको नेतृत्वमा करोडौंको अवैध सामान बरामद, प्रहरीप्रतिको जनविश्वास बढ्दै

बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी इन्स्पेक्टर श्याम कुमार बस्नेतको कमान्डमा विगत १० महिनाको अवधिमा आपराधिक गतिविधिहरू विरुद्ध उल्लेखनीय सफलता हासिल गरेको छ । लागू औषध नियन्त्रणदेखि भन्सार छली रोकथाम, फरार प्रतिवादी पक्राउ, काठ तथा बालुवा तस्करी नियन्त्रणसम्मको अभियानमा सफलता हात परेको हो । प्रहरी कार्यालयको उक्त कामले स्थानीयमा प्रहरीप्रतिको जनविश्वास बढ्दै गइरहेको छ ।

इन्स्पेक्टर बस्नेतको नेतृत्वमा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली गरी ल्याइएका करिब २९ करोड ४१ लाख ३३५ रुपैयाँ बराबरको विभिन्न किसिमका उपभोग्य तथा अन्य सामग्रीहरू र ४ वटा मोटरसाइकलहरू नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । त्यस्तै भारतको ड्राइपोर्ट हुँदै नेपाल भित्रिएका तथा बिल र बिजकमा उल्लेख गरिएभन्दा बढी मात्रामा माल लोड गरी ल्याइएका १ करोड ७ लाख ४० हजार रुपैयाँ बराबरको मालसामान सहितका सवारी साधन राजस्व अनुसन्धान कार्यालय, पथलैयामा आवश्यक अनुसन्धानका लागि बुझाइएको हो ।
त्यसैगरी, लागू औषध तस्करी तथा सेवन नियन्त्रणलाई प्राथमिकता दिँदै प्रहरी इन्स्पेक्टर बस्नेतको टोलीले विभिन्न मितिमा लागूपदार्थहरू समेत बरामद गरेको छ ।
उक्त कार्यमा संलग्न २४ जना पुरुष र १ जना महिलालाई पक्राउ गरि कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको छ ।

बिज्ञापन

वडा प्रहरी कार्यालय श्रीपुरले २७३ जना अदालतबाट फैसला भइसकेका फरार प्रतिवादीहरूलाई अदालतमा पेश गरेको छ । त्यस्तै, चालु तथा पेनडिङ मुद्दामा संलग्न २४ जना पुरुष र २ जना महिला गरी २६ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा दाखिला गरिएको छ । विभिन्न मितिमा पिठुवा जातको काठ २५० क्यु फिट, तयारी काठबाट बनेका ढोकाका चौकस ८ पिस र झ्यालका चौकस ४० पिस, साथै तिनीहरू लोड गरिएका सवारीसाधनहरू नियन्त्रणमा लिई वन डिभिजन कार्यालय पर्सामा बुझाइएको पनि जनाइएको छ ।

अवैध रूपमा बालुवा उत्खनन गरी ट्याक्टरमार्फत ओसारपसार गरिरहेको अवस्थामा ९ वटा ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज महानगरपालिकामा बुझाइएको पनि जानकारी दिइएको छ ।
प्रहरीको यस प्रकारको सफलताका कारण स्थानीयमा प्रहरीप्रति विश्वास बढेको हो । यसकारण स्थानीय र प्रहरीबीचको सम्बन्ध मजबुत बन्ने स्थानीयको धारणा छ ।