

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–९ भठियन बजारस्थित सुशिला टाँकिज चलचित्र घर १७ वर्षपछि पुनः सञ्चालनमा आएको छ ।
वर्षौँदेखि बन्द अवस्थामा रहेको यो पुरानो चलचित्र घरलाई आधुनिक प्रविधि र थप सुविधासहित सोमबारदेखि पुनः सञ्चालनमा ल्याइएको हो ।



चलचित्र घरका सञ्चालक गुरुदेव यादवका अनुसार अबको सुशिला टाँकिज नयाँ पुस्ताको स्वाद अनुसारको सुविधा र प्रविधिसहित सञ्चालनमा आएको छ। ‘सिनेमा घरमा बसेर चलचित्र हेर्ने संस्कृति नयाँ पुस्तामा पुनः स्थापित गर्न यो टाँकिज पुनः सञ्चालनमा ल्याएका हौं,’ उनले भने।
पुनः सञ्चालनको अवसरमा मैथिली भाषाको कथानक चलचित्र ‘कल्कतियावाली’ प्रदर्शन गरिएको छ। चलचित्र घरमा विशेष साउन्ड सिस्टम, आरामदायी सिटसहित आधुनिक प्राविधिक जडान गरिएको सञ्चालक यादवले बताए।
‘अब यो चलचित्रघर नियमित सञ्चालन हुनेछ। नेपाली, हिन्दी तथा मैथिली भाषाका चलचित्रहरू प्रदर्शन गरिनेछ,’ उनले भने, ‘विशेषगरी स्थानीय दर्शकको रुचि अनुसार चलचित्र छनोट गरिनेछ।’
उनका अनुसार कहिले काँही दर्शकको भीड लाग्ने सुशिला टाँकिज देशको राजनीतिक अस्थिरता र डिजिटल माध्यमको प्रभावका कारण बन्द हुन पुगेको थियो।
चलचित्रघर पुनः सञ्चालनमा आएपछि स्थानीयवासीमा उत्साह देखिएको छ। स्थानीय युवा नागेन्द्र महरा भन्छन्, ‘हामी साना हुँदा यहीँ आएर फिल्म हेर्थ्यौं। अहिले फेरि खुलेको सुन्दा निकै खुसी लागेको छ। अब परिवारसहित आफ्नै गाउँमै फिल्म हेर्न पाइने भयो।’