सूचना विभागमा अनलाइन दर्ता र नवीकरण स्थगित, अब जिल्लामै सीडीओले गर्ने

काठमाडौं । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ । विभागकी शाखा अधिकृत शान्ती लामाले मंगलबार सूचना प्रकाशित गरी विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण कार्य स्थगित गरेको जानकारी दिएकी छन् ।

विभागले यसअघि अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम हुँदै आएको अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता तथा नवीकरणको कार्य नयाँ कानुनी व्यवस्थासँग मिलाउन आवश्यक भएको भन्दै अहिलेलाई स्थगित गरिएको जनाएको हो ।

बिज्ञापन

नेपाल ऐन संशोधनमार्फत गरेको छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ को व्यवस्था अनुसार अब जिल्ला प्रशासन कार्यालयबाट अनलाइन दर्ता हुने व्यवस्था रहेको जानकारी गराउदैँ विभागबाट दर्ता तथा नविकरणको कार्य रोकिएको जानकारी गराएको हो ।

विभागले गर्दै आएको अनलाइन सञ्चारमाध्यमको काम अब गृह मन्त्रालय अन्तर्गतका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले गर्ने भएका छन् ।

सरकारले छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ मा दफा ७ ख थप गरी अनलाइन दर्ता र नवीकरणका लागि स्थानीय अधिकारीलाई तोकेको छ ।

स्थानीय अधिकारी भनेका जिल्ला प्रशासन कार्यालयका प्रमुख सीडीओ हुन् । सोही ऐनअन्तर्गत यसअघि सीडीओले पत्रपत्रिका दर्ताको कार्य गर्दै आएका थिए । पत्रपत्रिकासरह अब अनलाइन पनि जिल्ला–जिल्लामै सीडीओसमक्ष दर्ता र नवीकरण हुने भएका छन् ।