

काठमाडौं । नेपाल प्रहरीको लामो इतिहासमा पहिलो पटक महिला प्रहरी सम्मेलन हुँदैछ । प्रहरी ऐन २०१२ आउनुपूर्वदेखि नै नेपाल प्रहरीमा महिलाको सहभागिता रहे पनि पहिलो पटक आगामी ५ र ६ भदौमा महिला प्रहरी सम्मेलन आयोजना हुन लागेको छ । प्रहरी प्रधान कार्यालयले सम्मेलनको तयारी गरिरहेको छ ।
अपराध अनुसन्धान विभागका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) राजन अधिकारीलाई सम्मेलनको सम्पूर्ण जिम्मेवारी तोकिएको छ । अधिकारीको अध्यक्षतामा ६ सदस्यीय टोली गठन गरेर काम सुरु गरिएको छ ।



प्रहरीमा लैंगिक समानता र न्यायलाई मूल प्रवाहीकरण गर्ने लक्ष्यका साथ पहिलो पटक महिला प्रहरी सम्मेलन गर्न लागिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए ।
प्रहरीमा महिलाको सहभागिता लामो भए पनि यस प्रकारको सम्मेलन पहिलो पटक हुन लागेको र यसले आगामी दिनमा महिलामैत्री बन्न संगठनले थप गर्नुपर्ने कामहरूबारे समेत निर्देश गर्ने उनको बुझाइ छ ।
नेपाल प्रहरीमा २०७९ मा लैंगिक नीति ल्याइएको थियो । उक्त नीतिलाई थप परिमार्जन गर्दै २५ मंसिर २०८१ मा प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम गर्दै तत्कालीन प्रहरी प्रमुख (आईजीपी) बसन्त बहादुर कुँवरले लैंगिक नीति २०८१ सार्वजनिक गरेका थिए ।
अहिले उक्त नीतिअनुसार नै प्रहरी सम्मेलन गर्न लागिएको बताइएको छ । दैनिक पुलिसिङ, अपराध अनुसन्धान, समुदाय प्रहरीलगायतमा महिला प्रहरीको सहभागिता र सुधार गर्नुपर्ने पाटाहरूमा सम्मेलनमा छलफल हुने बताइन्छ ।
महिला प्रहरीको इतिहास लामो रहेको त्यसको समीक्षा गर्दै थप सुधार गर्नुपर्नेबारे छलफल हुने महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका एसपी तथा समितिकी सदस्यसचिव बसुन्धरा खड्का बताउँछिन् ।
‘नेपाल प्रहरीमा हिजो महिलाले के गरे, आजको अवस्था कस्तो छ र भोलि के गर्ने भन्नेबारे यो सम्मेलन छलफल हुन्छ,’ खड्का भन्छिन् ।
‘हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नारा र लैंगिक विभेदमा शून्य सहनशीलता, सुरक्षित समाजका लागि ऐक्यबद्धता भन्ने नेपाल प्रहरीको नारासहित प्रहरी प्रधान कार्यालयमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान पनि यसअघि सञ्चालन गरिएको थियो । यही लैंगिक नीति कार्यक्रमअन्तर्गत नै अहिले महिला प्रहरी सम्मेलन गर्न लागिएको हो ।
लैंगिक हिंसाका घटनाको अनुसन्धान र कारबाहीलाई प्रभावकारी बनाउने उद्देश्यले लैंगिक नीति ल्याइएको थियो । प्रहरीभित्रै पनि लैंगिक हिंसाका घटना हुनसक्ने भन्दै त्यस्ता घटनालाई निरुत्साहित गर्ने र कारबाहीको दायरासम्म ल्याउने यसको उद्देश्य रहेको बताइन्छ ।
सम्मेलन गर्न एआईजी अधिकारीको नेतृत्वमा अपराध अनुसन्धान विभागकै डीआईजी सञ्जीव शर्मा दास, एसएसपी सानुराम भट्टराई, एसएसपी तारादेवी थापा, एसएसपी वसन्त रजौरे, एसपी ऋषिराम कँडेल र एसपी बसुन्धरा सदस्य छन् ।
सबै युनिटका महिला प्रहरी सहभागी गराउने उद्देश्य
यो सम्मेलनमा जतिसक्दो धेरै महिला प्रहरीको सहभागिता गराउने उद्देश्य राखिएको छ । सबै महिला प्रहरीको सहभागिता गराउन असम्भव भए पनि सकेम्म सबै प्रहरी युनिटबाट कम्तीमा एकजनाको प्रतिनिधित्व होस् भन्ने हिसाबले काम गरिएको समितिले बताएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका एसपी तथा समितिकी सदस्य सचिव बसुन्धरा खड्काका अनुसार जति पनि महिला प्रहरी कार्यरत रहेका प्रहरी कार्यालयहरू छन्, ती कार्यालयबाट कम्तीमा एकजना महिला प्रहरीको भए पनि प्रतिनिधित्व होस् भन्ने हिसाबले काम गरिएको छ ।
सबै महिला प्रहरीलाई सहभागी गराउन त सम्भव हुँदैन । तर कम्तीमा हरेक कार्यालयका एकजना महिला प्रहरी सहभागी गराउने गरी तयारी गरेका छौं- बसुन्धरा खड्का,सदस्यसचिव
‘सबै महिला प्रहरीलाई सहभागी गराउन त सम्भव हुँदैन । तर कम्तीमा हरेक कार्यालयका एकजना महिला प्रहरी सहभागी गराउने गरी तयारी गरेका छौं,’ सदस्य सचिव खड्काले भनिन् ।
नेपाल प्रहरीमा कार्यरत महिला प्रहरीको सम्मेलन भएकाले यसमा अन्य देशका अथिति तथा महिला प्रहरीहरूको भने सहभागिता नहने बताएको छ ।
नेपाल प्रहरीमा कस्तो छ महिलाको अवस्था??
नेपाल प्रहरीको औपचारिक इतिहास २०१२ मा प्रहरी ऐन आएपछिलाई मानिन्छ । तर यो ऐन आउनुभन्दा पहिला पनि विभिन्न नाममा प्रहरी संगठन भने थियो । प्रहरी ऐन आउनुभन्दा ४ वर्ष पहिलादेखि नै नेपाल प्रहरीमा महिला प्रहरीको प्रवेश भइसकेको थियो ।
११ असार २००८ मा चैतमाया डंगोल प्रहरी जवानमा सेवा प्रवेश गरेकी थिइन् । उनी नेपाल प्रहरीको इतिहासकै प्रथम महिला प्रहरी हुन् । जवानमा सेवा प्रवेश गरेकी डंगोलले ३१ वर्ष ७ महिना २२ दिन सेवा गर्दै २०३९ मा अवकाश भएकी थिइन् ।
२००८ देखि अहिलेसम्म आइपुग्दा नेपाल प्रहरीको कुल जनशक्तिको १२.४१ प्रतिशत महिला प्रहरी कर्मचारी छन् । नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार ५४१ मध्ये अहिले ७४ हजार ८०६ जना कार्यरत छन् ।
काठमाडौं महानगरपालिका–७ चाबहिलकी डंगोलले प्रहरी सहायक निरीक्षक (असई) बाट अवकाश पाएकी थिइन् । चैतमायाको प्रहरीमा प्रवेशपछि क्रमश महिला प्रहरी कर्मचारीको विकास हुँदै आएको थियो । त्यसपछि सन् १९६८ मा २५ जना महिलालाई ट्राफिक प्रहरीमा भर्ना गरिएको थियो ।
२००८ देखि अहिलेसम्म आइपुग्दा नेपाल प्रहरीको कुल जनशक्तिको १२.४१ प्रतिशत महिला प्रहरी कर्मचारी छन् । नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार ५४१ मध्ये अहिले ७४ हजार ८०६ जना कार्यरत छन् ।
जसमध्ये ८७.५९ प्रतिशत आर्थत् ६५ हजार ५२० पुरुष प्रहरी कर्मचारी र १२.४१ प्रतिशत अर्थात् ९ हजार २८६ महिला प्रहरी कर्मचारी कार्यरत रहेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।
कुन दर्जामा कति छन् महिला प्रहरी??
नेपाल प्रहरीको इतिहासमा अतिरिक्त महानिरीक्षक (एआईजी) दर्जासम्म महिला प्रहरी पुगेको देखिन्छ । प्रहरीको ८ दशक लामो इतिहासमा अहिलेसम्म प्रमुख तथा आईजीपी भने महिला प्रहरी भएका छैनन् ।
नेपाल प्रहरी अस्पतालको प्रमुखदेखि विभिन्न विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सम्मको कमान्ड महिला प्रहरीले गरिसकेका छन् । प्रहरी अस्पतालको कमान्ड प्राविधिक एआईजी डा. आशा सिंहले गरेकी थिइन् । उनी १० साउन २०८१ मा अवकाश भइन् ।
यो बाहेक प्रशासनतर्फको पहिलो महिला एआईजी पूजा सिंह बनेकी थिइन् । उनी २०७९ जेठमा एआईजीमा बढुवा भएकी थिइन् । त्यसपछि मीरा चौधरी, किरण बज्राचार्य, दुर्गासिंह चन्द पनि एआईजी बने ।
अहिले नेपाल प्रहरीमा कार्यरत महिला कर्मचारी भने डीआईजी दर्जासम्म छन् । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार अहिले डीआईजी दर्जामा एक महिला कर्मचारी कार्यरत छन् ।
प्रशासनतर्फको पहिलो महिला एआईजी पूजा सिंह बनेकी थिइन् । उनी २०७९ जेठमा एआईजीमा बढुवा भएकी थिइन् । त्यसपछि मीरा चौधरी, किरण बज्राचार्य, दुर्गासिंह चन्द पनि एआईजी बने ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दर्जामा ६, प्रहरी उपरीक्षक (एसपी) दर्जामा ८, प्रहरी नायव उपरीक्षक (डीएसपी) दर्जामा ३९ र प्रहरी निरीक्षक (इन्स्पेक्टर) दर्जामा १५४ जना महिला प्रहरी कर्मचारी कार्यरत छन् ।
अधिकृत दर्जामा सानो संख्यामा महिला प्रहरी कर्मचारी भए पनि तल्लो दर्जामा भने यो संख्या बढी छ, जुन स्वाभाविक पनि हो । वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) दर्जामा १३२, प्रहरी नायव निरीक्षक (सई) दर्जामा २४०, प्रहरी सहायक निरीक्षक (असई) दर्जामा ४८९ महिला प्रहरी कर्मचारी कार्यरत छन् ।
वरिष्ठ हवल्दार २७५, हवल्दार ११४२, सहायक हवल्दार १५७९, जवान ४६४० र कार्यालय सहयोगी ५७३ जना महिला प्रहरी कर्मचारी कार्यरत रहेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।