
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई नेकपा (एमाले) ले पनि विश्वासको मत दिने भएको छ । राजनीतिक समीकरणमा आएको उतारचढावका बीच केन्द्रमा भएको शीर्ष सहमति अनुसार एमालेले मुख्यमन्त्री यादवलाई समर्थन गर्ने निर्णय गरेको हो ।
यसअघि गत शुक्रबार नै मुख्यमन्त्रीले विश्वासको मत लिने तय भए पनि जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसदहरूले ‘फ्लोर क्रस’ गर्न सक्ने आशंकामा उक्त कार्यसूची स्थगित गरिएको थियो । अब मुख्यमन्त्री यादवले आगामी जेठ ८ गते प्रदेश सभाबाट विश्वासको मत लिने नयाँ मिति तय भएको छ ।




मधेश सरकारमा नेपाली कांग्रेस, जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा (एकीकृत समाजवादी) बीच मुख्यमन्त्री यादवलाई निरन्तरता दिने सहमति बनेको थियो । तर, जसपा र लोसपाको एकीकरणलाई निर्वाचन आयोगले मान्यता दिएपछि एकीकृत दलले विश्वासको मत दिन आनाकानी गरेसँगै मधेश सरकार संकटमा परेको थियो ।

कांग्रेस नेतृत्वको सरकार सुरक्षित गर्ने प्रयास स्वरूप केन्द्रीय तहमा कांग्रेस र एमालेबीच सघन संवाद भएको थियो । कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग फरक-फरक समयमा भेटवार्ता गरी सातै प्रदेशको सरकार सञ्चालन र शक्ति बाँडफाँटबारे छलफल गरेका थिए ।
दुई ठूला दलबीच भएको सोही प्रारम्भिक सहमति अनुसार मधेशमा एमालेका सांसदहरूले मुख्यमन्त्री यादवको पक्षमा मतदान गर्ने भएका हुन् ।