सप्तरी : लालु यादवमाथि गोली चलाउने प्रहरी इन्स्पेक्टरको जिम्मेवारी खोसियो

राजविराज । सप्तरीको राजगढ गाउँपालिक – २ मा प्रहरीले चलाएको गोली लागि लालु यादवको मृत्यु भएपछि गोली चलाउने प्रहरी इन्स्पेक्टरको जिम्मेवारी खोसिएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी उमा प्रसाद चतुर्वेदीका अनुसार इन्स्पेक्टर वीरेन्द्र कुमार यादवलाई तत्कालका लागि जिम्मेवारीबाट मुक्त गरिएको बताए । उनले भने छानबिन समितिका लागि तयारी थालिएको छ र इन्स्पेक्टर यादवको जिम्मेवारीबाट हटाएर प्रदेश प्रहरी कार्यालय फिर्ता बोलाएको जानकारी दिए ।

बिज्ञापन

लालु यादव, स्थानीय विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत हुन् । मंगलबार राति भारततर्फ मदिरा तस्करी भइरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले गोली चलाउँदा उनको मृत्यु भएको थियो । घटनापछि मृतक परिवार र स्थानीयबासी आक्रोशित बनेका थिए । बुधबार दिनभर प्रदर्शन गर्दै दोषीमाथि कारबाहीको माग राखेपछि बिहीबार प्रशासन र पीडित पक्षबीच सहमति भएको हो ।

घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठनका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने र समितिको प्रतिवेदनअनुसार क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।

यसैगरी प्रहरी निरीक्षक वीरेन्द्र कुमार यादवलाई घटनाको छानबिन नहुँदासम्म जिम्मेवारीबाट अलग गर्न तालुक निकायमा अनुरोध गर्ने सहमति भएको छ । आन्दोलनरत पक्षले आन्दोलनका सबै कार्यक्रम स्थगित गरी शव परिवारका सदस्यले बुझेर अन्तिम संस्कार गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।