सोनापडामा इँटा बिछ्याएर अलपत्र छाडिएको सडक, स्थानीय घाइते

जनकपुरधाम । धनुषाको कमला नगरपालिका–८ सोनापडामा सडक ढलान गर्न सुरु गरिएको स्थानीय सडक निर्माण एक महिनादेखि अलपत्र छाडिएको छ । बद्री माझी यादवको घरदेखि बलराम बिराजी यादवको घरसम्म ढलान गर्ने कार्य केही दिनमै स्थानीय युवाहरूको विरोधपछि बन्द भएको हो ।

गत असार २० गतेदेखि इँटाको सोलिङ गरेर काम सुरु गरिएको थियो । तर स्थानीय युवाहरुले दुई नम्बरको इँटा प्रयोग गरी काम गुणस्तरहीन भएको आरोप लगाउँदै रोकिदिएका छन् । उनीहरूका अनुसार बिना इस्टिमेट, बिना डिजाइन, र कमिसनको चलखेलमा ढलान कार्य सुरु थियो । अरु सडकमा नालासहित सडक ढलान गरिएको छ, भने यस सडकमा बिना नालाकै दुई नम्बरको इँटासहित गुणस्तरहीन सडक निर्माण गरिरहेको कारणले हामी सडक बनाउन अबरोध गरेको युवाहरुले बताए ।

बिज्ञापन

इँटा राख्ने तरिका मापदण्डअनुसार छैन । योजना न त डिजाइन छ, न बजेट पारदर्शी । यदि इस्टिमेटअनुसार काम नगर्ने हो भने हामी अख्तियारमा उजुरी दिन्छौं, स्थानीय युवाहरुले चेतावनी दिएका छन् ।

इँटा बीचैमा–आवतजावत कठिन, मान्छे घाइते

एक महिनाभन्दा बढी समयदेखि सडकमा इँटा विछ्याएर छाडिएकाले स्थानीयको आवतजावत निकै कठिन भएको छ । सडक अव्यवस्थित भएको कारण धेरैले चिप्लिएर चोटसमेत पाएका छन् । वर्षासँगै सडक हिलो, खाल्डाखुल्डी र फोहोरले भरिँदा वृद्धवृद्धा, स्कुले बालबालिका, सर्वसाधारण सबैलाई समस्या भएको स्थानीय शम्भु यादव, उमेश यादव, धर्मेन्द्र यादव, दिपेन्द्र यादव, रोशन गोइत यादव, अमित यादव, वासु बिराजी यादवले गुनासो गरे ।

वडाध्यक्षको भनाइ : यो राजनीतिक विरोध मात्र हो

वडाध्यक्ष तृपित भुडेर यादवले भने काम सुरु हुनु अघि कुनै गुनासो नभएको दाबी गरे । उनका अनुसार ठेकेदारले असार १८ गते नै काम सुरु गर्न भने पनि असार २० बाटमात्र काम सुरु भएको थियो ।

इँटाको सोलिङ गरेपछि केही युवाहरूले राजनीतिक कारणले काम रोके, उनले भने । उनका अनुसार ठेकेदारले करीब ३–४ लाख रुपैयाँ बराबरको इँटा लगायतको सामग्री लगानी गरिसकेका छन् । काम रोकिदिँदा लगानी फसेको भन्दै वडाध्यक्षले भने–यदि उनीहरूले इँटा नै चाहँदैनन् भने हटाइदिन्छौं, काम हुन्छ कि हुँदैन ठेगान छैन ।