

जनकपुरधाम । सङ्घीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरीवीमन्त्री बलराम अधिकारीले धनुषाको विदेह नगरपालिकाको इटहर्वामा आयोजित एक समारोहबीच सो पालिकाका एक हजार एक सय जना जग्गाधनीलाई प्रमाण–पूर्जा वितरण गरेको छ ।
नापी कार्यालय धनुषाद्वारा सोमबार आयोजित समारोहमा गाउँब्लक जग्गाधनी दर्ता प्रमाण–पूर्जा वितरण कार्यक्रममा सो पालिकाको वडा नं.१ देखि वडा नं.९ सम्मका जनतालाई उहाँले जग्गाधनी प्रमाणपत्र वितरण गरेको हो ।




मन्त्री अधिकारीले भूमि समस्याको समाधान सङ्घीय सरकारको एक्लो प्रयासले समाधान गर्न समस्या भएकाले तीनै तहका सरकारको सहयोग तथा समन्वय आवश्यक रहेको बताए ।

आगामी तीन वर्षमा भूमिहीन, सुकुम्वासी, भूमिहिन दलित तथा अव्यवस्थित वसोवासीको समस्या समाधान हुने उनले आश्वासन दिए । साथै भूमि आयोगको कार्यमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले भूमि समस्या समाधान गर्न सरकारले उच्च प्राथमिकतामा दिएको बताए । सङ्घीय सांसद रामकृष्ण यादवले जनताको हकहितको विषयमा राजनीति तथा भेदभाव गर्न नहुने विचार व्यक्त गरे ।
विदेह नगरपालिकाका मेयर बेचन दासले नापी कार्यालयबाट खटिएका कर्मचारीले लालपुर्जा बनाउने तथा सर्वे गर्ने कार्यमा सर्वसाधारणलाई दुःख दिने तथा गैरकानुनीरूपमा रकम माग्ने गरेको गुनासो गरे ।