‘सोर्सफोर्स छैन, इन्स्पेक्टर भइँदैन’ भन्थे, आईजीपी भए खापुङ

काठमाडौँ । शुक्रबार नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त भएका चन्द्रकुबेर खापुङ ३२ वर्षपहिले भने शाखा अधिकृतको तयारी गरिरहेका थिए। नेपाल ल क्याम्पसबाट स्नातक उत्तीर्ण गरेपछि उनी सरकारी जागिरकै तयारीमा थिए।

२०५० सालतिर उनलाई प्रहरी नै हुन्छु भन्ने चाहिँ थिएन।

बिज्ञापन

तेह्रथुमका खापुङको परिवारले नयाँ बानेश्वरमा घर बनाउँदै थियो। कलेज पढ्दाका साथी बुद्धिराज गुरुङ र विष्णुकुमार केसीले घरमै पुगेर नेपाल प्रहरीको इन्स्पेक्टर (प्रहरी निरीक्षक) मा भर्ना खुलेको सुनाए।

गुरुङ र खापुङ कलेजमा भेटिएका पहिलो साथी हुन्। उनीहरू कलेजमा भर्ना हुँदाको पनि रोचक कथा छ।

खापुङले प्रहरीमा सोर्सफोर्स नभई जागिर खान गाह्रो छ भनेको सुनेका थिए। ती दुई जना साथीलाई पनि उनले यही भने र इन्स्पेक्टरमा भिड्ने मनसाय सुरुमा देखाएनन्।

‘हामी गाउँका मान्छे के भइन्थ्यो इन्स्पेक्टर, हामीसँग सोर्सफोर्स पनि छैन,’ उनका साथी पूर्वएआईजी बुद्धिराज गुरुङ त्यतिबेला खापुङले दिएको जवाफ सम्झिन्छन्, ‘हामीले १०/१५ प्रतिशत त फेयर पनि हुन्छ। नभए पनि अनुभव हुन्छ दिऊँ भनेर कन्भिन्स गर्‍यौँ।’

केसी र गुरुङले भनेपछि खापुङ पनि प्रहरी प्रधान कार्यालय गएर २०५० सालको मंसिरमा फर्म भर्न तयार भए। उनीहरू तीनै जनाले इन्स्पेक्टरको फर्म भरे। विष्णु केसीले भने असइको पनि परीक्षा दिए। असइको भने पहिल्यै नतिजा आयो। केसी सफल भए र २०५१ भदौ १६ गते प्रहरी सहायक निरीक्षक (असइ) मा भर्ना भए। उता इन्स्पेक्टरको भने नतिजा आउन ढिला भयो।

२०५१ मंसिरमा नतिजा सार्वजनिक हुँदा तीनै जना उत्तीर्ण त भए तर क र ख सूचीमा बाँडिए। बुद्धिराज गुरुङ क सूचीको आठौँ नम्बरमा परे। केसी र खापुङ भने ख सूचीमा थिए।

इन्स्पेक्टरका लागि एक सय जनाको नाम निकालिए पनि क र ख मा वर्गीकरण गरियो। किन वर्गीकरण गरियो भन्ने उनीहरूलाई पनि थाहा भएन। क सूचीमा परेका बुद्धिराज गुरुङसहित ५० जना २०५१ चैत ५ गते नेपाल प्रहरीमा भर्ना भए। गणेश चन्द र भगवान विष्टलाई राष्ट्रिय अनुसन्धान विभागमा लगियो। बाँकी ८ जनालाई वैकल्पिक भन्दै पछि सम्पर्क गर्न भनियो। तिनै ८ जना मध्येका हुन् हालका प्रहरी महानिरीक्षक दीपक थापा।

अहिले केपी शर्मा ओली र शेरबहादुर देउवाले सत्ता गठबन्धन गरेका छन्। उतिबेला खापुङ प्रहरी निरीक्षकमा भर्ना हुने बेलामा पनि ओली र देउवाकै भूमिका थियो।

सुरुमा भर्ना खुलाउँदा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा देउवा गृहमन्त्री थिए। तर पार्टीभित्रैबाट असहयोग हुँदा नीति तथा कार्यक्रम फेल भएपछि कोइरालाले संसद् विघटन गरेर राजीनामा दिए।

त्यसपछि चुनावबाट मनमोहन अधिकारीको सरकार आयो। जुन सरकारका गृहमन्त्री थिए हालका प्रधानमन्त्री केपी शर्मा ओली। २०५१ सालमा क सूचीमा रहेका बुद्धिराज गुरुङसहित ५२ जनालाई उनैले नियुक्त गरेका थिए। ओली गृहमन्त्री हुँदा खापुङसहित ख सूचीमा परेकाले भने इन्स्पेक्टरमा भर्ना हुन पाएनन्।

त्यतिबेला क सूचीकै ८ जना र ख सूचीका ४० जना नियुक्त भएनन्। ख सूचीमा रहेका विष्णु केसीसहित १५ जना भने असइमा भर्ना भएर जागिर खाइरहेका थिए।

क सूचीमा रहेका बाँकी ८ जनालाई २०५२ भदौ १९ गते भर्ना गरियो। तर ख मा रहेका ४० जनाको विषयमा भने त्यतिबेलाको सरकार बोलेन। खापुङ भने बुबा ललितबहादुर बितेकाले तेह्रथुमको मोराहाङ गए। आमा मोराहाङको मेङ्लेखु गाउँमै बस्थिन्। परिवारका साइँला छोरा हुन् खापुङ। दाइहरू जेठा र माइला ब्रिटिस आर्मी थिए। तीनजना भाइ काठमाडौँ बसेर पढ्थे।

खापुङ गाउँमा हुँदा उनको टोलीका केही साथीहरू इन्स्पेक्टरमा नियुक्त गर्न आदेश माग्दै सर्वोच्च अदालत पुगे। पास भएको एक वर्ष हुन लाग्दा पनि सरकारले नियुक्त नगरेको भन्दै उनीहरूले अदालत गुहारेका थिए। यता त्यहीबीचमा सरकार पनि परिवर्तन भयो। मनमोहनले संसद् विघटन गरे। अदालतले पुनर्स्थापना गरिदिएपछि भर्ना प्रक्रिया अगाडि बढाउँदाका गृहमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री बने।

गृहमन्त्री कांग्रेसकै खुमबहादुर खड्का बने। अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा देउवा नेतृत्वको सरकारले विशेष दरबन्दी सिर्जना गरेर ख समूहमा रहेका ४० जनालाई पनि इन्स्पेक्टरमा भर्ना गर्ने निर्णय गरेको थियो।

नाम निस्किएको झण्डै एक वर्षपछि खापुङ र उनको टोली २०५२ कात्तिक २७ गते इन्स्पेक्टरमा नियुक्त भए।

माओवादी सर्च अप्रेसनमा घाइते भएका थिए खापुङ
उनीहरू प्रहरीमा भर्ना भएकै वर्ष देशमा माओवादीको युद्ध सुरु भयो। खापुङ तालिम सकेर दंगा नियन्त्रण गण इटहरीमा पोस्टिङ भएका थिए। त्यहाँबाट उनी जिल्ला प्रहरी कार्यालय म्याग्दी सरुवा भए।

२०५४ सालको स्थानीय तहको चुनावमा उनी म्याग्दीमै थिए। चुनावपछि उनको सरुवा काठमाडौँको २ नं गणमा भयो। माओवादी द्वन्द्वमा स्ट्राइकिङ टोली खटाइन्थ्यो। खापुङ पनि ‘किलो शेरा २’ अप्रेसनमा सिन्धुली खटिए।

सिन्धुलीबाट फेरि उनी काठमाडौँ नै सरुवा भएर आए। सिन्धुली अप्रेसमा राम्रो काम गरेको भन्दै उनको ग्रेड वृद्धि गरिएको थियो। त्यतिबेला स्ट्राइकिङमा गएर फर्किएपछि राम्रो पोस्टिङसहित इन्चार्ज दिने गरिएको थियो। तर खापुङले भने इन्चार्ज पाएनन्। उनलाई जिल्ला प्रहरी कार्यालय काठमाडौँ, हनुमानढोका खटाइयो।

काठमाडौँमा त्यतिबेला हनुमानढोकाको प्रहरी कार्यालयबाट मात्रै मुद्दा चल्थ्यो। जिल्ला प्रहरी कार्यालय काठमाडौँमा उनी तीन पटक सरुवा भए। इन्स्पेक्टर हुँदा दुई पटक र पछि डीएसपीमा एक पटक खटिएका थिए।

काठमाडौँमा काम गरिसकेपछि उनलाई दोस्रो स्ट्राइकिङमा सिन्धुपाल्चोक खटाइयो। २०५६ साल मंसिरको कुरा हो। उनीसहितको टोलीमाथि बिहानै माओवादीले आक्रमण गर्‍यो। सिन्धुपाल्चोकको माङ्खामा भएको ग्रिनेड आक्रमणमा उनको कम्मर नजिकै छर्रा लाग्यो। बेल्ड छेड्दै लागेको छर्राले शरीरबाट रगत बग्न थाल्यो।

यो टोलीको कमान्डर खापुङ नै थिए। कमान्डर घाइते भएपछि हेलिकोप्टर झिकाइयो। हेलिकोप्टर आएर उनलाई सुरुमा त्रिवि शिक्षण अस्पताल लग्यो, पछि प्रहरी अस्पताल सारियो र उनको उपचार भयो।

उनको प्रहरी जीवनकै कठिन क्षण यही थियो। इन्स्पेक्टर हुँदै खापुङ मोरङको उर्लाबारी, नगर प्रहरी विराटनगर र बेलबारी इलाका प्रहरी कार्यालयमा बसेर काम गरेका थिए। त्यतिबेला स्थानीयमाझ खुब लोकप्रिय थिए खापुङ। मोरङबाट सरुवा भएर फेरि उनी जिल्ला प्रहरी कार्यालय काठमाडौँको हनुमान ढोका आएका थिए। उनलाई सुरुमा नेपालगञ्जस्थित गणमा सरुवा गरिएको थियो। तर बीचैमा जिल्ला प्रहरी कार्यालय बाँके काजमा खटाइयो।

सुर्खेतमा इन्स्पेक्टर हुँदै ६ महिना गणपति चलाएका थिए। उनीभन्दा माथिल्लो दर्जाका प्रहरी त्यहाँ नगएपछि उनले नै इन्चार्ज चलाएका थिए।

बढुवामा उछिन्नेहरू डीआईजीमै घर गए
प्रहरी निरीक्षकमा भर्ना भएको १२ वर्षपछि मात्रै खापुङ प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएका थिए। उनका ब्याचका ६ जना २०६३ सालमै डीएसपीमा बढुवा भएका थिए। तर खापुङ भने २०६४ मा मात्रै डीएसपी भए।

शान्ति मिसनमा हाइटीमा खटिएका उनी त्यहाँबाट फर्किएपछि तत्कालीन धौलागिरि अञ्चलमा बस्दा बागलुङमा खटिए। २०६४ सालको निर्वाचनमा उनी बागलुङमा थिए।

छोटो समय बागलुङ बसेपछि उनी ललितपुरको चापागाउँ वृत्तमा सरुवा भए। उनी चापागाउँ वृत्तमै कार्यरत थिए। २०६६ जेठमा तत्कालीन एमाले नेता जगन्नाथ खतिवडाले उनलाई संसद् भवन नयाँ बानेश्वरमा बोलाए। खतिवडाले प्रधानमन्त्री माधवकुमार नेपालको पीएसओका लागि प्रस्ताव गरे। प्रहरी प्रधान कार्यालयबाट पनि उनलाई त्यसका लागि खटिन भनिएको थियो।

त्यसपछि एक वर्ष तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षा अधिकृतका रुपमा खटिएपछि खापुङ फेरि हाइटी मिसनमा गए।

हाइटी मिसनबाट फर्किएपछि उनी बालानन्द शर्मा नेतृत्वको सेना समायोजन समितिको सचिवालयमा खटिएका थिए। एक वर्ष त्यहाँ काम गरेपछि इलाका प्रहरी कार्यालय धरान सरुवा गरियो। तर धरानमा लामो समय रहेनन्। इन्चार्ज भए पनि उनी चार महिनामै सरुवा मागेर जिल्ला प्रहरी कार्यालय काठमाडौँ आए।

काठमाडौँ प्रहरीमा उनले अप्रेसन कमान्डरको जिम्मेवारी पाएका थिए। त्यहाँबाट उनी दरबारमार्ग वृत्तको इन्चार्ज भए। उनी दरबारमार्ग वृत्तको पहिलो इन्चार्ज पनि हुन्।

त्यहाँबाट प्रहरी प्रधान कार्यालय सरुवा भएका उनलाई त्यसपछि सिंहदरबार गणमा खटाइयो। त्यसपछि उनी प्रहरी प्रधान कार्यालयको प्रशासन शाखा प्रमुख भए। उपेन्द्रकान्त अर्याल आईजीपी हुँदा उनी प्रशासन शाखामा कार्यरत थिए। त्यहीबेला उनका ब्याचीहरू एसपीमा बढुवा भए। तर खापुङलाई २०७२ सालको एसपी बढुवामा पछि पारियो। खापुङ भने २०७३ सालमा मात्रै एसपीमा बढुवा भएका थिए।

त्यतिबेला पहाडी १० जिल्लामा एसपी खटाउने निर्णय भयो। खापुङलाई बागलुङ खटाइएको थियो। उनले २०७४ सालको स्थानीय निर्वाचन गराएका थिए। प्रतिनिधि सभाको निर्वाचन आउने बेलामा भने अर्यालले खापुङलाई सरुवा गरे।

हेडक्वार्टर सरुवा भएका उनले फेरि कर्मचारी प्रशासन शाखाको जिम्मेवारी पाए। सर्वेन्द्र खनाल आईजीपी हुँदा उनी २ वर्ष कप्रमै बसे। त्यहाँबाट विशेष ब्युरोमा सरुवा भएका थिए।

एसपी बढुवासम्म पछि पारिँदै आएका खापुङ एसएसपी बढुवा भने पहिलो लटमै भए। २०७६ सालमा उनको ब्याचका १९ जना एसएसपी बन्दा खापुङ १९ औँ नम्बरमै थिए।

एसएसपी भइसकेपछि उनी भर्ना छनोट महाशाखामा पदस्थापन भए। एसएसपी हुँदा उनी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख बने। संघीय प्रहरी कार्यालय बनेपा र प्रहरी प्रधान कार्यालयमा काम गरेपछि २०७९ मा डीआईजीमा बढुवा भएका थिए।

डीआईजी भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका उनी एक वर्ष अख्तियारमै रहे। त्यसपछि कोसी प्रदेश प्रहरी प्रमुख बनेका थिए। त्यसपछि सीआईबीमा सरुवा भएका उनी गत वैशाखमा एआईजीमा बढुवा भए। एआईजी भएपछि पनि सीआईबीमै पदस्थापन भएका खापुङ यही रहँदा शुक्रबार नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त भए।

आईजीपी नियुक्त भएपछि खापुङले भने, ‘इमान्दारीका साथ आफ्नो कर्म गर्‍यो भने गन्तव्यमा पुगिनेरहेछ।’

३१ वर्षपहिले खापुङलाई प्रहरी निरीक्षकमा भर्ना हुन प्रोत्साहन गर्ने उनका साथी पूर्वएआईजी बुद्धिराज गुरुङले पनि खापुङ आईजीपी हुँदा खुसी व्यक्त गरे।

‘भाग्यले साथी आईजीपी भयो, मेरा लागि यो भन्दा खुसी अरु हुँदैन,’ पूर्वएआईजी गुरुङले शुक्रबार नेपालखबरसँग भने, ‘निष्ठासाथ काम गर्‍यो भने राज्यले हेर्छ भन्ने पुष्टि भयो।’

खापुङलाई प्रहरीमा भर्ना हुन उक्साउने गुरुङ भने गएको चैत ५ गते एआईजीबाट अवकाश भए। अर्का साथी विष्णु केसी २०८१ भदौ १६ गते नै डीआईजीबाटै अवकाश भइसकेका छन्।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले आईजीपी नियुक्त गर्ने निर्णय गरे पनि खापुङले भदौ १९ गते मात्रै पदभार ग्रहण गर्नेछन्। हालका आईजीपी दीपक थापा १८ गते अनिवार्य अवकाश हुनेछन्।

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा जाने र १८ गते मात्रै फर्किने भएकाले एक सातापहिले नै आईजीपी नियुक्त गरिएको हो। शुक्रबार संयोग यस्तो मिल्यो कि ३२ वर्षपहिले गृहमन्त्री हुँदा खापुङसहितको टोलीलाई इन्स्पेक्टरमा नियुक्त नगरेका केपी शर्मा ओलीले नै आईजीपी नियुक्त गर्ने निर्णय गरे।

खापुङले आगामी कात्तिक २६ गतेसम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन्। त्यसपछि उनी ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश हुनेछन्।