
जनकपुरधाम । नेकपा एमालेका तर्फबाट धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उमाशंकर अरगरियाले बुधबार बिहान शहिदनगर नगरपालिका वडा नं. ८ नाथपट्टि र बिसरभोरामा चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रमका क्रममा स्थानीय समर्थक र मतदाताले अरगरियालाई अबीर, टीका र गम्छा लगाएर भव्य स्वागत गरेका थिए । सहभागीहरूले अरगरियाको जितका लागि नारासमेत गरेका थिए ।





घरदैलोका क्रममा अरगरियाले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै विगतका एक संसदीय कार्यकालमा क्षेत्रको विकासका लागि गरेका कामहरूको मूल्याङ्कन गरी मतदान गर्न आग्रह गरे । उनले भने, १० वर्षअघि धनुषा–२ को अवस्था सम्झनुहोस् । सडक, विद्यालय, स्वास्थ्य, विवाह भवन, मन्दिर–मस्जिदको अवस्था अहिले तुलना गर्नुहोस् । म निर्वाचित भएपछि भएका विकासहरू तपाईंहरूले आफैँ देख्न सक्नुहुन्छ ।

अरगरियाले आफूलाई क्षेत्रको हरेक टोल, समस्या र समाधानबारे जानकार उम्मेदवारका रूपमा प्रस्तुत गर्दै अन्य उम्मेदवारहरूसँग तुलना गरेका छन् । उनले एमालेको राष्ट्रियता मजबुत पार्ने, आर्थिक समृद्धि ल्याउने र समाजवाद उन्मुख विकासको एजेन्डा आफ्नै प्रतिबद्धताका रूपमा अघि सारेको बताए ।
अरगरियाले चुनावी मौसममा मात्र जनतासँग आउने उम्मेदवारहरूलाई पहिचान गर्न आग्रह गर्दै भने, पाँच वर्षमा एकपटक मत माग्न आउनेहरूले क्षेत्रको विकास गर्न सक्दैनन् । निर्वाचित भएपछि पनि जनताको घरदैलोमा नआउनेहरूलाई जनताले चिनोस् । म सधैं जनताको सुख–दुखमा साथी बनेर बस्नेछु ।
