धनुषा–२ मा चुनावी माहोल तात्दै, उमाशंकर अरगरिया घरदैलो अभियानमा सक्रिय

जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत विदेह नगरपालिका–५ मुडिवा तथा शहिदनगर नगरपालिका–७ का धबौली र नेमुवाटोलमा नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरियाले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

निर्वाचनको मिति नजिकिँदै जाँदा अरगरिया मतदाताको घरदैलोमा पुगेर प्रत्यक्ष संवादमा केन्द्रित देखिएका छन् । उनले स्थानीय बस्ती, टोल र समुदायमा पुगेर जनताको गुनासा, अपेक्षा र सुझाव सुनेका थिए ।

बिज्ञापन

घरदैलोका क्रममा अरगरियाले आफूलाई जनताले दिएको विश्वासलाई विकास र सेवा मार्फत प्रतिफल दिने प्रतिबद्धता व्यक्त गरे । उनले सडक स्तरोन्नति, खानेपानीको सहज पहुँच, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको विस्तारलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको बताए ।

“स्थानीय समस्या स्थानीय तहबाटै समाधान हुनुपर्छ । त्यसका लागि आवश्यक नीति निर्माणसँगै स्रोत सुनिश्चित गर्न पहल गर्नेछु,” उनले मतदातासँग भने ।

कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता, युवा तथा महिला समूहको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले क्षेत्रको पूर्वाधार विकास, बेरोजगारी न्यूनीकरण र कृषि क्षेत्रका समस्याबारे उम्मेदवारको ध्यानाकर्षण गराएका थिए ।

अरगरियाले जनताको सुझावलाई आफ्नो चुनावी एजेन्डामा समेट्दै व्यवहारिक समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन् ।