

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेमाथि चेकजाँच सुरु गरेको छ । कार्यालय सरसफाई नभए पनि मुख्य सडक, चोकमा ट्राफिक सेवा शुरु भइसकेको उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले बताएका छन् ।
अत्यधिक क्षति पुगेको रामशाहपथस्थित उपत्यका ट्राफिक कार्यालयलाई मर्मत सम्भार गर्ने काम भइरहेको भन्दै अधिकारीले ट्राफिक प्रहरी जेजस्तो अवस्थामा छन्, त्यही अवस्थामा ड्युटीमा निस्किएको बताए । मुख्य चोक र सडकका प्रायः ट्राफिक लाइट भत्काइएका कारण ट्राफिक प्रहरीको अनुपस्थितिका कारण सर्वसाधारणलाई मर्का पर्ने हुँदा चप्पल, जुत्ताको ख्याल नगरी ट्राफिक सडकमा उत्रिएको उनले बताए ।




उपत्यकाभर ट्राफिकका कुनै पनि कार्यालय सग्लो छैनन् । व्यारेक र मेस पनि छैनन् । ‘घरकै भात खाएर हामी ड्युटीमा छौं’, अधिकारीले भने ।

ट्राफिक व्यवस्थापनका निम्ति नागरिकस्तरबाट स्वयंसेवाको क्रम पनि जारी भएका कारण ट्राफिक प्रहरीले आफ्नो कामलाई सुचारु गर्न सकेको उनले बताए ।
मापसेको दु:ख
सवारी चालकले मापसे गरे, नगरेको पहिचान गर्न आवश्यक पर्ने ब्रेथलाइजर सबैजसो जलेका छन् । चालकलाई ‘हा…’ गर्न लगाउँदा स्वयं ट्राफिक प्रहरी प्रभावित हुने खतरा छ । त्यसका बाबजुद पनि चेकिङ शुरु भएको एसएसपी अधिकारी बताउँछन् । ‘चेकिङ नहुँदा दुर्घटनाको खतरा बढेपछि हामी चेकिङमा जानु मुख्य कर्तव्य हाे’, उनले भने ।