
जनकपुरधाम । नेपाल–भारत खुला सीमा नाकाका कारण लागूऔषध ओसारपसार तथा अन्य अवैध गतिविधि बढ्दै गएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म महिनाथपुर, धनुषाले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले खुला सीमाको दुरुपयोग गर्दै लागूऔषध कारोबार र सेवनको प्रवृत्ति बढिरहेको बताएका हुन् ।




कार्यक्रमका प्रमुख अतिथि बेचन दासले सीमावर्ती भारतीय बजारमा सहज रूपमा उपलब्ध हुने लागूऔषधका कारण नेपाली युवाहरू दुर्व्यसनतर्फ आकर्षित भइरहेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सुरक्षा निकायले अझ प्रभावकारी रूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याए । उनले लागूऔषधविरुद्ध समुदाय, अभिभावक र सुरक्षा निकायबीच समन्वय आवश्यक रहेको बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नम्बर ८ गण धनुषाका गणपति एसपी भिमबहादुर बिष्टले पछिल्ला दिनहरूमा मधेश प्रदेशका विभिन्न जिल्लाबाट लागूऔषध तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र कारबाहीलाई थप सशक्त बनाएको जानकारी दिए । उनले सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधिमाथि कडा निगरानी जारी रहेको उल्लेख गर्दै दैनिक उपभोग्य वस्तु खरिद गरी ल्याउने सर्वसाधारणलाई अनावश्यक दुःख दिने कार्य नगर्न मातहतका निकायलाई निर्देशन दिइएको बताए ।
स्थानीय जनप्रतिनिधिहरूले पनि सशस्त्र प्रहरीको कार्यशैलीप्रति सकारात्मक धारणा व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै स्थानीय वडाअध्यक्ष संजय पाण्डेले पछिल्लो ६ महिनायता सशस्त्र प्रहरीको व्यवहारबाट स्थानीय बासिन्दाले कुनै किसिमको हैरानी वा झन्झट भोग्न नपरेको बताए । उनले जनता र प्रहरीबीचको सम्बन्धलाई थप मजबुत बनाउन सीमा सुरक्षा गुल्म महिनाथपुरले खेलेको भूमिकाको प्रशंसा गर्दै गुल्मपति डिएसपी सुरेश कोइरालाको कार्यसम्पादन उदाहरणीय रहेको उल्लेख गरे ।
कार्यक्रमका अवसरमा सशस्त्र प्रहरी बलको ‘क्विक इम्प्याक्ट प्रोजेक्ट’ अन्तर्गत ३० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । साथै महिनाथपुर भन्सार कार्यालय अगाडि रहेको टेम्पु पार्क क्षेत्रमा चौतारा निर्माण तथा चापाकल जडान कार्यसमेत सम्पन्न गरिएको जानकारी दिइएको छ ।

सुरक्षा निकाय, जनप्रतिनिधि तथा स्थानीय समुदायको सहभागिता रहेको कार्यक्रममा खुला सीमाबाट हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्दै सीमावर्ती क्षेत्रमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षको सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको थियो ।