भेष बदलेर पर्सा–बारा सीमामा पुगे गृहमन्त्री सुदन गुरुङ, पर्सा–बाराका सुरक्षा संयन्त्रमा हलचल

वीरगञ्ज । गृहमन्त्री सुदन गुरुङले पर्सा–बारा जिल्लाका विभिन्न सीमा नाकामा कुनै पूर्वजानकारी नदिई छड्के अनुगमन गरेका छन्। भेष बदलेर निजी सवारीमार्फत सीमा क्षेत्रमा पुगेका उनले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै तस्करीको अवस्थाबारे जानकारी लिएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी भएर शुक्रबार राति चितवनबाट प्रस्थान गरेका गृहमन्त्री गुरुङ करिब राति ९ बजे पथलैया पुगेका थिए। त्यसपछि पूर्व–पश्चिम राजमार्ग हुँदै पिलुवा, बडहर्वा र सिमरा क्षेत्रको भ्रमण गर्दै स्थानीयसँग अनौपचारिक छलफल गरेका थिए।

बिज्ञापन

शनिबार बिहान वीरगञ्ज पुगेका गृहमन्त्रीले तस्करीका लागि संवेदनशील मानिने अलौं र पनटोक्कालगायत सहायक सीमा नाकाको स्थलगत अनुगमन गरे। अनुगमनका क्रममा उनले स्थानीयसँग साइकल, मोटरसाइकल तथा टाउकोमा बोकेर हुने अवैध सामान ओसारपसारका विषयमा जानकारी लिएका थिए।

स्थानीयले गृहमन्त्रीसमक्ष सीमा क्षेत्रमा सुरक्षाकर्मीको मिलेमतोमा दिनदहाडै तस्करी हुने गरेको आरोप लगाएका थिए। उनीहरूले सीमा क्षेत्रमा जडान गरिएका सिसी क्यामेराको प्रभावकारी उपयोग हुन नसकेको तथा त्यसकै आडमा अवैध कारोबार हुने गरेको दाबी पनि गरेका थिए। यद्यपि यी आरोपबारे सम्बन्धित सुरक्षा निकायको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

अनुगमनका क्रममा सुरेन्द्र साह नाम गरेका एक स्थानीयले भारततर्फ चारवटा मोटरसाइकलमा तस्करीका सामान लोड गरेर राखिएको र अनुगमन टोली फर्किएपछि ती सामान नेपालतर्फ भित्र्याइने गरेको गुनासो गरेका थिए। त्यसपछि गृहमन्त्रीले आफ्नो टोलीका एक सदस्यलाई उक्त स्थानमा गएर अवस्थाबारे बुझ्न निर्देशन दिएका थिए।

यस्तै, अर्का स्थानीय मुकेश साहले सीमा क्षेत्रमा जडान गरिएको सिसी क्यामेरातर्फ देखाउँदै त्यसको निगरानी गर्ने निकायबारे प्रश्न उठाएका थिए। गृहमन्त्रीले सिसी क्यामेराको निगरानी कहाँबाट हुने भनेर सोध्दा स्थानीयले सशस्त्र प्रहरीको क्याम्पबाट निगरानी हुने जानकारी दिएका थिए। उक्त क्षेत्रको सुरक्षा जिम्मेवारी सशस्त्र प्रहरी बलको बीओपी ड्राइपोर्टअन्तर्गत रहेको बताइएको छ।

स्रोतका अनुसार गृहमन्त्रीले आफ्नो सम्पूर्ण भ्रमण स्थानीय सुरक्षा निकायलाई पूर्वसूचना नदिई गरेका थिए। उनी व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) सहित निजी सवारीसाधन प्रयोग गर्दै दिनभर विभिन्न पाँचवटा सवारीमार्फत सीमा क्षेत्रको अवलोकन गरेका थिए। भ्रमणका क्रममा पीएसओको मोबाइलसमेत बन्द रहेको बताइएको छ।

भेष परिवर्तनका लागि गृहमन्त्रीले क्याप, मास्क, कालो चश्मा, टिसर्ट र हाफ पाइन्ट लगाएका कारण अधिकांश स्थानीयले सुरुमा उनलाई चिन्न सकेका थिएनन्। यसले अनुगमनलाई थप गोप्य बनाउन सहयोग पुगेको बताइएको छ।

दिनभरको अनुगमनपछि गृहमन्त्री गुरुङ साँझ सिमरा विमानस्थल पुगेका थिए। त्यहाँ उनले पर्सा र बाराका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रमुख अधिकारीसँग छलफल गर्दै सीमा क्षेत्रबाट हुने तस्करी तत्काल नियन्त्रण गर्न कडा निर्देशन दिएको स्रोतले जनाएको छ।