
जनकपुरधाम । आगामी मंसिर ९ गते हुने ऐतिहासिक विवाहपञ्चमी महोत्सवलाई भव्य र व्यवस्थित बनाउनका लागि जनकपुरधामस्थित जानकी मन्दिरमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा हरेक वर्ष झैं यस वर्ष पनि महोत्सवलाई गरिमामय रूपमा सम्पन्न गर्ने निर्णय गरिएको छ ।
बैठकले महोत्सवको सफल आयोजनाका लागि विभिन्न उपसमितिहरू गठन गर्ने निर्णय गरेको छ । महोत्सवका क्रममा अयोध्याबाट आउने साधु–सन्तहरूको आवास तथा भोजन व्यवस्थापनको जिम्मेवारी जानकी मन्दिरले लिने जनाइएको छ ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले विवाहपञ्चमी महोत्सवलाई भव्य र सभ्य बनाउन सबै जनकपुरवासीले आफ्नो तर्फबाट सहयोग र योगदान गर्न आग्रह गर्नुभयो ।
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव मंसिर ४ गतेदेखि सुरु भई विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रमसँगै मंसिर १० गते समापन हुने तय गरिएको छ ।





