

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीको निर्देशनमा सडकमा हुने ध्वनि प्रदूषण नियन्त्रणका लागि विशेष अभियान सुरु गरिएको छ ।
यस अभियानअन्तर्गत साइलेन्सर परिमार्जन गरी ठूलो आवाज निकाल्ने मोटरसाइकलहरू नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको छ । सेवाग्राहीहरूले परिवर्तित साइलेन्सरबाट उत्पन्न अत्यधिक आवाजका कारण हुने ध्वनि प्रदूषणको गुनासो गरेपछि एसएसपी अधिकारीले ट्राफिक प्रहरीलाई अभियान तीव्र बनाउन निर्देशन दिएका हुन् ।




एसएसपी अधिकारीका अनुसार, यो अभियानलाई ट्राफिक कार्यको नियमित हिस्सा बनाइनेछ । नियन्त्रणमा लिने, साइलेन्सर झिक्ने, मापदण्डअनुसार फेर्न लगाउने र जरिवाना तिरेपछि मात्र सवारी फिर्ता गरिनेछ, उनले बताए ।

बिहीबार एसएसपी अधिकारी स्वयं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा उपस्थित भई नियन्त्रणमा लिइएका मोटरसाइकलहरूको बारेमा पत्रकार सम्मेलन गरेका थिए । उक्त अवसरमा उनले स्वरूप परिवर्तन गरी ठूलो आवाजसहित सवारी चलाउने चालकहरूमाथि कारबाही प्रक्रिया सुरु गरिएको जानकारी दिए ।
उनका अनुसार, अभियान सुरु भएपछि हालसम्म करिब २०० वटा मोटरसाइकल नियन्त्रणमा लिइएका छन् र ती सबैको साइलेन्सर झिकिएको छ । सम्बन्धित सवारी धनीहरूलाई मापदण्डअनुसारको साइलेन्सर राखेपछि मात्र सवारी चलाउन अनुमति दिइनेछ ।
सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कम्पनीका पाटपुर्जा मापदण्डविपरीत परिवर्तन गर्न पाइँदैन । तर धेरै चालकहरूले यो नियम उल्लङ्घन गरी साइलेन्सर परिवर्तन गर्ने गरेको पाइएकाले यसप्रति कडाइ गर्नुपर्ने एसएसपी अधिकारीको भनाइ छ । यस्ता मोटरसाइकलले ठूलो आवाज निकाल्दा विद्यालय, अस्पताल र बासिन्दाहरूलाई असहज बनाउँछ, उनले भने, ध्वनि प्रदूषणले स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले यसको नियन्त्रण अत्यावश्यक छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालकहरूलाई सचेत रहन आग्रह गर्दै कम्पनी मापदण्ड विपरीत सवारीको स्वरूप परिवर्तन नगर्न अनुरोध गरेको छ । साथै, यो अभियानलाई निरन्तरता दिँदै मुख्य चोक, बजार क्षेत्र र शैक्षिक संस्थान नजिक निगरानी थप सुदृढ पार्ने तयारी गरेको छ ।
एसएसपी अधिकारीका अनुसार, साइलेन्सर परिवर्तनले मोटरसाइकलको इन्जिनमा ध्वनि प्रदूषणले स्वास्थ्यमा नकारात्मक असर पार्ने, नकारात्मक असर पार्ने र दुर्घटनाको जोखिम बढाउने भएकाले चालकहरूलाई यसबारे सचेत गराइएको छ ।
उपत्यका प्रहरी कार्यालयका एआईजी दान बहादुर कार्कीले पनि उक्त अभियानलाई समर्थन जनाउँदै ध्वनि प्रदूषण नियन्त्रणमा सबै नागरिकको सहकार्य आवश्यक रहेको बताए ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार, नियमविपरीत साइलेन्सर परिवर्तन गर्ने चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐनअनुसार जरिवाना गरिनेछ । पहिलो पटक सचेत गराइने र दोहोरिएमा कडा कारबाहीको व्यवस्था रहनेछ ।