सिरहा : एक पोखरीमा व्यक्तिगत दुश्मनीले प्वाइजन हाल्दा लाखौँको माछा मरेर नष्ट

जनकपुरधाम । धार्मिक आस्था छठ पर्वकै दिन एक पोखरीमा अज्ञात व्यक्तिले विष (प्वाइजन) हाल्दा लाखौँको माछा मरेर नष्ट भएको छ ।

सिरहा नगरपालिका वडा नम्बर १५ माडरस्थित काली मन्दिर सार्वजनिक पोखरीमा विष हालेर करीब २५ क्विंटल माछा नष्ट गरिदिएका छन् । यस घटनाले स्थानीय समुदाय र माछा पालन व्यवसायीहरूमा तीव्र आक्रोश फैलिएको छ ।

बिज्ञापन

उक्त पोखरी सिरहा नगरपालिका वडा नम्बर १५ का दिलीप कुमार सहनीले ठेक्कामा लिएर माछा पालन गर्दै आएका थिए । पत्रकार समेत रहेका सहनीसँग समाचारको लागि व्यक्तिगत दुश्मनीको बदला लिएको बुझिएको छ ।

नगरपालिका सँग माछा पालनका लागि भएको औपचारिक सम्झौता अनुसार सहनीले ठेक्का शुल्क बुझाएर पोखरीमा व्यवस्थित रूपमा माछा उत्पादन गर्दै आएका थिए । तर, छठ पर्वकै दिन बिहान सबेरै छठ घाट सरसफाईको मौका छोपी अज्ञात व्यक्तिले पोखरीमा विष हालिदिएपछि सबै माछा मरेका हुन् ।

सहनीका अनुसार, पोखरीमा साढे दुई टनभन्दा बढी माछा थिए, जसको बजार मूल्य करिब रु ७ लाख ५० हजार रुपैयाँ पर्थ्यो । तर, विषका कारण पूरै नष्ट भयो । यस्तो क्रूर कार्य धार्मिक पर्वकै अवसरमा हुनु निकै दुःखद र आपत्तिजनक छ, उनले बताए ।

घटनापछि स्थानीय बासिन्दाहरूले कडा विरोध जनाएका छन् । उनीहरूले छठ पर्वको पवित्रता र सामाजिक सद्भावमा चोट पुर्‍याउने गरी गरिएको यस कार्यको गम्भीर छानबिन र दोषीलाई कठोर कारबाहीको माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी रमेशबहादुर पालले भने, यो अत्यन्तै निन्दनीय कार्य हो । विष प्रयोग गर्ने व्यक्ति वा समूहको पहिचान गरी कानुनी कारबाही अघि बढाइनेछ ।

स्थानीय नागरिकहरूले पनि यस घटनालाई धार्मिक सहिष्णुता र सामुदायिक सद्भावमाथिको आक्रमणको रूपमा लिएका छन् । माछा पालन व्यवसायमा लागेको युवा वर्गलाई यस घटनाले ठूलो मनोवैज्ञानिक र आर्थिक आघात पुर्‍याएको बताइएको छ ।

छठजस्तो पवित्र पर्वमा यस्तो अपराध हुनु हाम्रो संस्कृतिमाथिको अपमान हो । तत्काल दोषी पत्ता लगाएर कडा सजाय दिनुपर्छ ।

उक्त घटनाले धार्मिक पर्वमा देखिएको अराजकता र असुरक्षाको गम्भीर चित्र कोरेको छ । अब सम्बन्धित निकायले तत्काल अनुसन्धान गरी दोषीलाई कानुनको कठघरामा उभ्याउने अपेक्षा जनाइएको छ ।