
सिरहा । जिल्ला सिरहाको सीमा क्षेत्र बोर्डरमा गरिएको नियमित चेकजाँचका क्रममा सशस्त्र प्रहरीले १० लाख रुपैयाँभन्दा बढी नगदसहित एक युवकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपालका अनुसार आज २७ गते दिउँसो करिब १३:३० बजे, सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडीस्थित दशगजा क्षेत्र मुख्य सीमा स्तम्भ नं. २४६ मा भारतबाट नेपालतर्फ आउँदै गरेको एक मोटरसाइकललाई रोकि चेकजाँच गरिएको थियो ।




चेकजाँचका क्रममा मोटरसाइकल चालक भगवानपुर गाउँपालिका–३ मरिकटोल निवासी २४ वर्षीय देवनाथ यादवको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ १० लाख ३ हजार ९ सय ९० रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

नगद रकमसँगै प्रयोगमा रहेको एक थान मोटरसाइकल र एक थान मोबाइल फोन समेत नियन्त्रणमा लिइएको छ । पक्राउ परेका व्यक्ति तथा बरामद सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
सशस्त्र प्रहरीका अनुसार सीमा क्षेत्रमा अवैध रूपमा रकम ओसार–पसार गर्ने गतिविधि नियन्त्रण गर्न सीमा निगरानी थप कडा बनाइएको छ ।
