
जनकपुरधाम । नेकपा एमालेले धनुषाको चारवटै निर्वाचन क्षेत्रका प्रतिनिधि सभाको उम्मेदवारको टुंगो लगाएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले धनुषाको चारवटै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको हो ।
धनुषा निर्वाचन क्षेत्र नं. १ मा रामचन्द्र मण्डल, क्षेत्र नं. २ मा उमाशंकर अरगरिया, क्षेत्र नं. ३ मा जुलीकुमारी महतो र क्षेत्र नं. ४ मा रघुवीर महासेठलाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ ।




क्षेत्र नं. १ का लागि उम्मेदवार तय भएका मण्डल मधेश प्रदेशका निवर्तमान सभामुख हुन् । उनी २०७९ को निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित प्रदेशसभा सदस्यमा हुन् । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार तोकिएसँगै उनी प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

यस्तै क्षेत्र नं २ का लागि उम्मेदवार अरगरिया २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा झिनो मतान्तरले पराजित भएका थिए । अरगरियालाई १५७ मतान्तरले पराजित गर्दै कांग्रेसका रामकृष्ण यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
कांग्रेसका यादवले २० हजार ११२ मत प्राप्त गर्दा एमालेका अरगरियाले १९ हजार ९५५ मत प्राप्त गरेका थिए ।
