नेतृत्व र नेताहरूबारे आवेगात्मक टिप्पणी नगर्न एमाले पङ्क्तिलाई सुहाङ नेम्वाङको अपिल

काठमाडौं । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले संसदीय दलको नेता चयनको विषयलाई लिएर नेतृत्व र नेताहरूबारे आवेगात्मक टिप्पणी नगर्न पार्टी पङ्क्तिमा अपिल गरेका छन् ।

उनले आफ्नो उम्मेदवारी पदको लोभ वा व्यक्तिगत महत्त्वाकाङ्क्षा नभई पार्टीभित्र नयाँ ऊर्जा र गतिशीलता थप्ने प्रयास भएको प्रष्ट पारेका छ्न् । सांसद नेम्वाङले पार्टीको मार्गदर्शक सिद्धान्त र ऐतिहासिक मूल्य-मान्यताप्रति आफू पूर्ण निष्ठावान रहेको उल्लेख गर्दै ‘अग्रजहरूको अनुभव र युवाहरूको ऊर्जा’ नै पार्टी निर्माणको मुख्य आधार भएको बताएका छन् ।

बिज्ञापन

पार्टी अहिले असाधारण संकट र चौतर्फी घेराबन्दीमा रहेको औंल्याउँदै कार्यकर्तामा व्याप्त निराशा चिर्न आफूले कदम चालेको उनको दाबी छ ।

आफ्नो उम्मेदवारीलाई उनले पार्टी र आन्दोलनका लागि ‘कालकूट विष’ पिएको रूपमा अर्थ्याएका छन् । ‘म जानकार छु, मेरो यो कदम मेरो व्यक्तिगत फाइदाका लागि थिएन, तर यसले एउटा सकारात्मक सन्देश दिएको छ,’ उनको भनाइ छ ।

आफ्नो उम्मेदवारी वा निर्वाचनको विषयलाई लिएर नेतृत्व र पार्टीका अन्य नेताहरूविरुद्ध सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी नगर्न समर्थक र कार्यकर्ताहरूलाई उनको विनम्र अनुरोध छ । पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने प्रयासले कसैलाई पनि कमजोर बनाउन नहुनेमा उनको जोड छ । आफ्ना दृष्टिकोणहरूलाई आन्तरिक कमिटीमै छलफल गर्ने प्रतिबद्धता पनि उनको छ ।

दलको नेतामा चुनिएका रामबहादुर थापा ‘बादल’ लाई बधाई सहित सुहाङले कार्यकाल सफलताको कामना गरेका छ्न् ।

उनको भनाइ जस्ताको तस्तै
आदरणीय अग्रज
प्रिय कमरेडहरू,
अभिवादन
यहाँहरुलाई थाहा छ, हाम्रो प्रिय पार्टी नेकपा (एमाले) को संसदीय दलको हिजोको बैठकपछि निर्वाचन प्रक्रियामार्फत् आदरणीय उपाध्यक्ष कमरेड रामबहादुर थापा ‘बादल’ दलको नेतामा निर्वाचित हुनुभएको छ । उहाँलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको सुखद शुभकामना व्यक्त गर्दछु ।
संसदीय दलको निर्वाचन प्रक्रियाका दौरान मैले आफ्ना स्पष्ट मान्यता र दृष्टिकोणहरू राखिसकेको छु । म आफ्ना विचार र मान्यताहरूलाई पार्टीको सम्बन्धित आन्तरिक कमिटी र विधिभित्रै राख्नुपर्छ भन्नेमा दृढ छु । तर, बैठकपछि सामाजिक सञ्जाल र सार्वजनिक रूपमा अभिव्यक्त प्रतिक्रियाहरूलाई मध्यनजर गर्दै थप प्रष्ट पार्नु म आफ्नो कर्तव्य ठान्दछु ।
आदरणीय अग्रजहरू,
मलाई थाहा छ, ‘पार्टीको मार्गदर्शक सिद्धान्त, संगठनात्मक सिद्धान्त र हाम्रो आन्दोलनले स्थापित गरेका ऐतिहासिक मूल्य–मान्यता र अभ्यास ।’ यी मूल्य र आदर्शहरूप्रति मेरो गहिरो प्रतिबद्धता र निष्ठा रही आएको छ । मैले सधैँ जोड दिँदै आएको छु—‘अग्रजहरूको अनुभव र ज्ञान एवं युवाहरूको ऊर्जा’ नै पार्टी निर्माणको मुख्य आधार हो ।
यहाँहरूलाई लाग्न सक्छ, ‘यो उम्मेदवारीमा हतारो भयो ।’ तर हामी सबैलाई थाहा छ, ‘हामी अहिले सामान्य अवस्थामा छैनौँ ।’ नेपाली राजनीतिमा ‘प्याराडाइम सिफ्ट’ भएको छ । नयाँ मानक, बिम्ब एवं मूल्यहरू निर्माण भएका छन् । के ती नयाँ मानक, बिम्ब र मूल्यहरु हामीले निर्माण गरेका हौं? धेरै लामो समयसम्म बाँचिरहने ती मानक, बिम्ब र मूल्यहरुसँगको हाम्रो आन्दोलनको सम्बन्ध र साइनो कस्तो छ, रहनेछ?
७६ वर्षे कम्युनिस्ट इतिहासको सबैभन्दा कठिन समयमा हामी उभिएका छौं । सबथोक भएको हामीसँग अहिले के–के बाँकी छन्? हाम्रो अगाडि असाधारण संकट छ । हामीमाथि अनेकन प्रश्नहरू छन् । हामी यी प्रश्नहरुबाट भागेर वा प्रश्नहरुलाई पन्छाएर पार्टीलाई नयाँ जिवन दिनै सक्दैनौं । वर्तमान निराशा र हताशाले हामीलाई पलायनतर्फ लैजाने डरलाग्दो खतरा छ । सामान्य समयमा हिजोको मूल्य, आदर्श र मान्यताका आधारमा नियमित अभ्यास गर्नु स्वाभाविक होला, तर यतिबेला हामी यस्तो असाधारण समयमा छौँ कि हाम्रा साधारण अभ्यासले मात्र समस्याको निरूपण हुनै सक्दैन । चौतर्फी घेराबन्दी, वैचारिक अन्योलता र कार्यकर्ता पंक्तिमा व्याप्त चरम निराशाका बीच आन्दोलनलाई जीवन दिनु र पार्टीलाई पुनः जागृत गराउनु हामी सबैको साझा जिम्मेवारी हो ।
तसर्थ, हाम्रा अग्रजहरूको दशकौँ लामो कष्टसाध्य संघर्ष, रगत–पसिना र बलिदानबाट निर्मित यो पार्टीको भविष्यप्रति हामी युवाहरू चिन्तित हुनुलाई अग्रजहरूले अन्यथा मान्नुहुन्न भन्ने मेरो गहिरो विश्वास छ । मैले जुन पुस्ताको प्रतिनिधित्व गरिरहेको छु, उहाँहरुको भावना र परिवर्तनको चाहनालाई मैले गहिरो गरी अनुभूत गरेको छु ।
यसै आधारमा भन्न सक्छु— ‘हामीले आन्दोलनलाई पुनर्जीवन दिन अब नियमित कर्मकाण्डी संगठनात्मक अभ्यासले मात्र पुग्दैन, जंगी परिवर्तन जरुरी छ ।’ हाम्रो विचार, संगठनात्मक अभ्यास, कार्यशैली र मान्यताहरुको आमूल परिर्वतन पहिलो शर्त हो ।
प्रिय साथीहरू,
मेरो उम्मेदवारी कुनै पदको तृष्णा वा व्यक्तिगत महत्वाकांक्षा थिएन । बरु, यो पार्टीभित्र नयाँ आशा, उत्साह र गति पैदा गर्ने एउटा प्रयास थियो । म जानकार छु, हाम्रो मनोविज्ञान र गरीआएको अभ्यासका आधारमा मेरो यो कदम व्यक्तिगत रूपमा फाइदाजनक नहोला । मलाई यो पनि बोध छ, ‘बाक्लो अँध्यारो चिरेर उज्यालो ल्याउन कोही न कोही त स्वयं मैनबत्ती बनेर जल्नैपर्छ ।’ मजस्तै हजारौँ युवाहरूको मनमा सल्किएको चिन्ताको आँधीबेहरी देखेर मैले ‘कालकूट विष’ पिएको हुँ । प्राविधिक परिणाम जे–जस्तो आए पनि पार्टी र आन्दोलनलाई जीवन्त राख्न यस्ता अभ्यासहरू जारी राख्नुपर्छ भन्नेमा म अविचलित छु ।
त्यही बुझाइ र बोधका साथ नयाँ आशा सिर्जना गर्न सकिन्छ भन्ने निचोडसहित मैले दलको नेतामा उम्मेदवारी दिने निधो गरेको थिएँ । प्रयास सफल भएन । अबको समयमा सबैले संयमता अपनाएर अग्रजहरूको ‘अनुभव र ज्ञान’ को सम्मान गर्दै युवाहरूले आफ्नो ऊर्जा पार्टीको हितमा खर्चिनुपर्छ । सामाजिक सञ्जालमा एकअर्काप्रति लक्षित नकारात्मक टिप्पणीले हाम्रो साझा प्रयासलाई मात्र कमजोर बनाउँछ । म पुनः विनम्रताका साथ पार्टी, नेतृत्व र नेताहरूका विरुद्ध आवेगपूर्ण टिप्पणी नगरिदिनु हुन अनुरोध गर्दछु ।
मैले हिजो पनि भनेको छु, ‘पार्टीलाई नयाँ जिवन दिने अभियान अन्त्य भएको होइन, सुरु मात्रै भएको हो ।’ मप्रति शुभेच्छा राख्नु हुने आदरणीय अग्रज र प्रिय साथीहरुप्रति हार्दिक आभार प्रकट गर्दै उत्तेजना वा आवेगबाट होइन विवेक, संयम र जिम्मेवारीबोधका साथ प्रस्तुत हुन बिनम्र अनुरोध गर्दछु ।
सुहाङ नेम्वाङ
१९ चैत २०८२