मिर्चैयाका विजय पंजियार : लागूऔषध कारोबारीदेखि नामुद मिटरब्याजीसम्म

जनकपुरधाम । मिर्चैयाका विजय पंजियार, झट्ट हेर्दा ‘दुई कौडी’को मान्छे जस्तो लाग्न सक्छ । किनकि, उनी चढ्ने मोटरसाइकल थोत्रा छन्, साँझमा उनी भेटिने ठेगाना ‘लोकल दारू’ पाउने भट्टी हो । तर, तपाईंलाई विश्वास गर्न गाह्रो हुन्छ, उनी अहिले करोडौंका मालिक छन् ।

उनको पारिवारिक पृष्ठभूमि भने सामान्य आर्थिक हैसियतको हो । तर, आज उनी यसरी करोडपति हुनुको मुख्य आधार हो – मिटरब्याज धन्दा । अहिले मिर्चैयामै उनीसँग एकैजनाले २० लाखबढी ऋण लिएका दर्जनबढी मानिसहरू भेटिन्छन् ।

बिज्ञापन

मिर्चैयामा मात्र होइन, जिल्लाभर उनीसँग ऋण लिएका यस्ता पीडितहरू छन् । उनले धितोबापत जग्गा आफ्नो नाममा पास गराएर ऋण दिने गरेको भएपनि त्यसपछि जग्गा पनि कब्जा गर्ने, हप्तादेखि चरम मिटरब्याससम्म असुल्ने गर्न थालेपछि यसको रहस्योद्घाटन भएको हो ।

स्थानीय बासिन्दाहरूका अनुसार, पंजियारले सुरुमा सानो स्तरमा ऋण दिने काम गर्दै आएका थिए । तर, पछि उनले मिटरब्याजलाई व्यवसाय नै बनाए । आर्थिक अभावमा परेका किसान, मजदुर तथा साना व्यवसायीलाई ऋणको जालमा फसाएर चर्को मिटरब्याज असुल्दै र जग्गा जमिन हडप्दै उनले करोडौंको अकुत सम्पत्ति जोडेका हुन् ।

स्थानीय स्रोतहरूका अनुसार, पंजियारले यसरी विभिन्न व्यक्तिहरूको गरी बिघौं जमिन आफ्नो कब्जामा लिएको अनुमान गरिएको छ । कतिपय घटनामा पीडितहरूलाई धम्की दिने, सामाजिक दबाब सिर्जना गर्ने र कानुनी प्रक्रियामा जान नदिन प्रयास गर्ने पनि उनले गरेका छन् ।

मिर्चैयामा यसअघिसम्म उनको नाम लागूऔषध कारोबारीका रूपमा चर्चित थियो । उनी निकट व्यक्तिहरूका अनुसार भारतबाट लागूऔषध किनेर ल्याउने र मिर्चैयामा बिक्री गर्नेदेखि कटारीसम्म सप्लाई गर्ने गरेका थिए । तर, प्रहरीले उनीमाथि निगरानी बढाएपछि पछि मिटरब्याज धन्दातिर लागेका थिए ।

उनीमाथि अहिले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, सिरहामा दर्जनौं उजुरी छ । तर, अझैसम्म उम्कदै आएका उनीमाथि अब भने छानबिन र कानूनी कारबाहीको माग गर्दै पीडितहरू संगठित हुँदै आन्दोलनको तयारीमा जुटेका छन् ।

यस विषयमा प्रतिक्रिया लिन हामीले विजयलाई फोन गर्‍यौं । तर, हाम्रो प्रश्न सुनेपछि उनले आफूलाई केही थाहा नभएको भन्दै फोन काटिदिए । त्यसपछि फोन उठाएनन् ।