बैशाख,२८ सिराहा । लकडाउनमा रक्तदान गर्नेको संख्या घटेसँगै स्थानीय रक्त सञ्चार केन्द्रमा रगत अभाव हुन थालेपछि आइतबार बिहान सिराहाको लहानमा रक्तदान गरिएको छ ।
लहानस्थित रक्त सञ्चार केन्द्रमा रगतको अभाव हुँदा बिरामी अप्ठ्यारोमा पर्न थालेपछि राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहा ले रक्तदान गरेको हो। लहान ७ स्थित राम मन्दिरनजिक स्यानिटाइजपछि रक्तदान गरिएको थियो ।
राष्ट्रिय युवा संघको सिराहा जिल्ला कमिटी र नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र लहानद्वारा आयोजित रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका संघका सिराहा संयोजक राजेश यादवले जानकारी दिए। प्रदेश सभा सदस्य लगनलाल चौधरीले मैनबत्ती बालेर रक्तदानको उद्घाटन गरेका थिए ।
रक्तदान गर्दा सामाजिक दूरी कायम गरिएको संयोजक यादवले बताए। नेकपाका युवा नेताद्वय विजय गुप्ता र सुरेन्द्र साहले भीडभाड व्यवस्थापनमा पहल गरेका थिए ।
लकडाउनमा रगत अभाव रेडक्रसद्वारा लहानमा सञ्चालित सिराहा जिल्लाको एक मात्र रक्त सञ्चार केन्द्रमा चैतको दोस्रो सातादेखि नै रगत अभाव भइरहेको केन्द्रका इन्चार्ज प्रदीपकुमार यादवले बताए। ‘केन्द्रमा ए पोजिटिभ र बी पोजिटिभ समूहको रगत अभाव छ,’ इन्चार्ज यादवले भने, १०० एकसय जनामा मुस्किलले ३० जनामा उक्त समूहको रगत पाइन्छ ।’
बिरामीलाई जुन समूहको रगत चाहिने हो सोही समूहको रगत भएका स्वस्थ व्यक्ति खोजेर ल्याएपछि मात्र रगत उपलब्ध हुने उनले बताए ।
दुर्लभ समूहमा पर्ने ए, एबी, ओ र बी निगेटिभ समूहको बिरामी पनि कम आउने हुँदा त्यति समस्या नहुने, तर ए, एबी, ओ र बी पोजिटिभ समूहको रगत भएका बिरामीको संख्या पनि बढी हुँदा केन्द्रलाई रगत व्यवस्थापनमा समस्या हुने गरेको इन्चार्ज यादवले बताए। ‘अप्ठ्यारो स्थितिमा धरान, विराटनगर र हेटौँडाबाट सापटी ल्याएर काम चलाउँथ्यौँ, उनले भने ।
दैनिक १० युनिटसम्म खपत सामान्य अवस्थामा केन्द्रमा सिराहा जिल्लासहित छिमेकी सप्तरी, उदयपुर र सिन्धुलीसम्मका प्रसूति, सडक दुर्घटनाका बिरामीका लागि १० युनिटसम्म रगत खपत हुने गरेको केन्द्रका प्राविधिक रामकुमार यादव बताउँछन्। ‘लकडाउनपछि दैनिक पाँचजनासम्म आउने बिरामीका लागि पनि रगत दिन सकिरहेका छैनौँ,’ उनले भने ।
सिराहा र सप्तरीका गरी ३५ जना हिमोफिलिया (शरीरमा रगत नै नबन्ने रोग) का बिरामी बालबालिकालाई हरेक महिना एक–एक युनिट रगत आवश्यक पर्ने भएकाले जसोतसो व्यवस्थान गरिरहेको प्राविधिक यादवले जानकारी दिए ।
सिराहाको कर्जन्हा, खजनपुर, धनगढी, सखुवानन्कारकट्टी, बन्दीपुर, सारश्वर, सिराहा सदरमुकाम र सप्तरीको सुरुंगाका एकदेखि १८ वर्षसम्मका हिमोफिलिया भएका ३५ जना बालबालिकालाई केन्द्रले दातालाई खोजेर भए पनि रगतको व्यवस्थापन गर्दै आएको छ।