जनकपुरधाम,२२ फाल्गुन ।धनुषा क्षेत्र २ बाट निर्वाचित संघीय साँसद तथा समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले युवाहरुले संस्कार विर्सिन नहुने धारणा राखेका छन् ।
बुधवार गायत्री परिवार जनकपुरद्वारा आयोजित वर्तमान चुनौतीहरु र राष्ट्र निर्माणमा युवाशक्तिको भुमिका विषयक चिन्तन गोष्ठीमा बोल्दै साँसद अरगरियाले संस्कार नविर्सित युवाहरुसँग आग्रह गरे । उनले अहिलेका युवाहरु संस्कार विर्सिनुमा अभिभावक नै जिम्मेवार रहेको बताए ।
उनले आफ्नो छोरा–छोरीलाई अभिभावकले नै संस्कार सिकाउनुपर्नेमा जोड दिए । उनले पहिले वास्ता नगर्ने र लागुऔषधसहित छोरा पक्राउ परेपछि नेता समक्ष धाउने प्रबृति अन्त्य हुनुपर्ने बताए । उनले युवाहरु लागुऔषधको कुलतमा फसेर आफु पनि र समाजलाई समेत विगार्ने गरेको भन्दै यसविरुद्ध अभियान चलाउनुपर्ने बताए ।
सांसदमा निर्वाचित भएपछि विकास निर्माणको काम धेरै गरेपनि कहिलेकाही दुःख लाग्ने गरेको उनले बताए । भने, ‘विभिन्न क्षेत्रमा इमान्दारिता पूर्वक काम गरेको भनेर धेरैले आफुलाई भन्दा खुसी लाग्छन् । तर युवाहरु लागुऔषधको कुलतमा फस्ने गरेको सुन्दा दुःख लाग्छ ।’
कार्यक्रममा गायत्री परिवारका अभियानीहरुले समृद्ध देश बनाउन युवाहरुले जिम्मेवारी बहन गर्नुपर्ने धारणा राखेका थिए । उनीहरुले अहिले सिमा क्षेत्रका युवाहरु लागुऔषध र अन्य गलत काममा फस्ने गरेकोमा दुःख व्यक्त समेत गरे ।