
काठमाडौं । सरकारले लोकतान्त्रिक आन्दोलनपछि बनेका सरकारको नेतृत्व गरेका र जीवित अवस्थामा रहेका सबै ६ जना पूर्वप्रधानमन्त्रीसहित २३ उच्चपदस्थ अधिकारीहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने गृहकार्य सुरु गरेको छ ।
प्रधानमन्त्री बालेनको ठाडो आदेशमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र झलनाथ खनालविरुद्ध सम्पत्ति शुद्धीकरणमा छानबिन गर्ने प्रक्रिया थालको हो । यसै गरी मधेसवादी नेताहरू तथा पूर्वमन्त्रीहरू उपेन्द्र यादव, शरदसिंह भण्डारीलगायत नेताको पनि सम्पत्ति छानबिन प्रक्रिया अघि बढाइएको छ ।




प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले प्रधानमन्त्रीको आदेशअनुसार नै ६ जना पूर्वप्रधानमन्त्रीसहित २३ जना उच्चपदस्थहरूमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गर्ने गृहकार्य अघि बढाइएको जानकारी दिए ।

‘अब सीआईबीमार्फत सबै पूर्वप्रधानमन्त्री र उनीहरूका आफन्तहरूको सम्पत्ति छानबिन गर्ने प्रायोजनका लागि छिटोभन्दा छिटो पक्राउ पुर्जी जारी गरिनेछ’ प्रहरी प्रधान कार्यालयका ती उच्च अधिकारीले भने ।
प्रहरी स्रोतका अनुसार प्रधानमन्त्री बालेनले प्रहरी महानिरीक्षक तथा प्रहरीका उच्च अधिकारीहरूलाई कडा निर्देशन दिँदै छिटोभन्दा छिटो सबैजना पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाउन निरन्तर दबाब र निर्देशन दिँदै आइरहेका छन् ।
प्रधानमन्त्रीको उक्त निर्देशनपछि प्रहरी प्रधान कार्यालयले सीआईबीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अनुसन्धानलाई तीव्र बनाउन निर्देशन दिएको छ ।
सोहीअनुसार सीआईबीले अदालतबाट पक्राउ पुर्जी लिनका लागि आवश्यक कागजी प्रक्रिया अघि बढाइएको जनाएको छ । स्रोतका अनुसार, प्रारम्भिक चरणमै करिब २३ जना प्रभावशाली नेता तथा व्यक्तिविरुद्ध पक्राउ अनुमति माग्ने तयारी भइरहेको छ ।
प्रधानमन्त्रीको लगातार दबाबका कारण सीआईबीले यो प्रक्रिया अघि बढाएको हो । सोहीअनुसार सीआईबीले कांग्रेस नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई आइतबार बिहान पक्राउ गरी अनुसन्धान थालिसकेको छ । त्यसैगरी अब सम्पत्ति शुद्धीकरणमा पूर्व प्रधानमन्त्रीहरू देउवा, ओली, प्रचण्ड, भट्टराई, खनाल र नेपाल तथा पूर्वमन्त्रीहरू यादव र भण्डारी पनि छिट्टै पक्राउ पर्ने सम्भावना देखिएको छ ।
उहाँहरू सबैमाथि छिट्टै पक्राउ पुर्जी जारी हुने प्रहरीका ती अधिकारीले स्पष्ट पारे । सबैजना पूर्वप्रधानमन्त्रीमाथि छानबिन गर्न प्रधानमन्त्री बालेनले प्रहरी नेतृत्वलाई लगातार दबाब दिन थालेपछि प्रहरीभित्र केही सकस देखिन थालेको छ ।
यद्यपि, प्रधानमन्त्रीको आदेश पालना गर्नुपर्ने भएकाले सीआईबीमार्फत सबै पूर्वप्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणमा एकसाथ छानबिन हुने प्रहरी प्रधान कार्यालयका ती अधिकारीले बताए । पूर्वप्रधानमन्त्रीहरू अनुसन्धानको दायरामा तानिए राजनीतिक वृत्तमा ठूलो हलचल हुने देखिएको छ ।