प्रमुख समाचार
जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेलले धनुषामा कोरोना भाईरस पाइएको तथ्य अफवाह मात्र भएको दाबी गर्नुभएको छ ।
भारतीय मिडियाहरुमा नेपालको प्रदेश नं. २ को धनुषाको जनकनन्दी गाउँपालिकाका दुई युवकमा कोरोना भाईरसको लक्षण भएको समाचार प्रकाशित गरेपछि हल्ला मच्चिएको थियो ।
त्यो हल्लाको पछाडी नजान आम नागरिकहरुमा सिडिओ कनेलले आग्रह गर्नुभएको छ । धनुषाको सिडिओ कनेलले दुई युवकमा भनिएको कोरोना भाईरसको लक्षण नेगेटिभ देखिएको बताउनुभयो ।
भारतको अस्पतालमा चेकजाँच गरेको तथा उनलाई कालाजार भएको अवस्था भनेपनि कोरोना भाईरसको लक्षण भएको भन्दै कुप्रचार गरिएको बताउनुभयो ।
“केही छैन, हामीले ती दुई युवकलाई प्रादेशिक अस्पतालमा चेकजाँच गराएका छौं । भारतमा गरिएको चेकजाँचको रिपोर्टमा पनि कोरोना नभएको भनेर प्रष्ट लेखिएको छ । प्रादेशिक अस्पतालमा चेकजाँचपछि उनीहरुलाई घर फर्काइएको छ ।, कोरोना छैन । यो सब अफवाह मात्र हो ।”– उहाँले भन्नुभयो ।
यस्तो माहामारीको समयमा कोरोना भाईरसको अफवाह फैलाउनेलाई पनि कारवाही गरिने बताउनुभएको छ । उहाँले समाजिक सञ्जाल फेसबुक, टवीटर लगायत कुनै पनि ठाउँ मार्फत अफवाह फैलाउनेलाई कारवाही गर्ने बताउनुभयो ।
जनकनन्दिनी गाउँपालिका वडा नं. ३ महुवा बस्ने ती युवकहरुलाई चेकजाँचपछि परिवारजनलाई खवर भएलगत्तै जनकनन्दिनी गाउँपालिकाकी उप प्रमुख भारती कार्कीले विहानै एम्बुलेन्स जयनगर पठाएको बताउनुभयो ।
उहाँले गाउँपालिकाबाट १० हजार रुपैयाँ पारित गरी एम्बुलेन्स मार्फत प्रादेशिक अस्पताल जनकपुरमा पठाएको बताउनुभयो । उहाँले समेत युवकहरुलाई कोरोनाको लक्षण नदेखिएको भनेर अस्पताललाई उदृत गर्दै जानकारी दिनुभयो ।