
जनकपुरधाम । मधेश प्रदेशमा प्रहरीको सक्रियता तीव्र बनेसँगै भन्सार छलिका सामग्री तथा सवारी साधनहरू बरामद हुनुका साथै तस्करी नियन्त्रण उन्मुख देखिएको छ । पछिल्लो २४ घण्टामा मात्रै मधेश प्रदेशका विभिन्न जिल्लामा प्रहरीले ९१ लाख ६१ हजार ५६३ रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको छ । बरामद सामग्रीहरू ढुवानी गर्न प्रयोग गरिएका ४२ वटा सवारीसाधनसमेत नियन्त्रणमा लिइएको छ । मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी उमाप्रसाद चतुर्वेदीको निर्देशनमा मंगलबार बिहानदेखि बुधबार बिहानसम्म सञ्चालन गरिएको संयुक्त अनुगमन तथा निगरानी अभियानमा यस्तो उल्लेखनीय सफलता हात परेको हो ।
सबैभन्दा धेरै बरामद वीरगंजबाट पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१४, गण्डकस्थित क्षेत्रबाट मात्रै ६५ लाख ९० हजार ९२८ रुपैयाँ बराबरको बिलबिनाको सामान बरामद गरिएको छ । एसपी गौतम मिश्रका अनुसार, बिलाबिजक भन्दा बढीको ती सामानहरू २ वटा ट्रकमा लोड गरिएको अवस्थामा फेला परेका थिए । सप्तरीमा १६ लाख २७ हजार ९७५ , महोत्तरीमा ८ लाख ७४ हजार ६६० र रौतहटमा ६८ हजार रुपैयाँ बराबरको झोला तथा सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त तस्करीको सामान भित्रयाउन प्रयोग गरिएको ५ थान मोटरसाइकल,१ थान कार,२ थान ट्रक, र ३४ थान साइकल बरामद भएको छ ।






यी सबै सवारी साधनहरू तस्करीमा प्रयोग गरिएको पुष्टि भएसँगै सम्बन्धित भन्सार कार्यालयमा आवश्यक कारबाहीका लागि बुझाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । डिआईजी उमाप्रसाद चतुर्वेदीले पदभार सम्हालेदेखि नै भन्सार छली, तस्करी र संगठित अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्दै आएका छन् । उनले मधेश प्रदेशका सबै जिल्लाका प्रहरी प्रमुखहरूलाई नियमित गस्ती, निगरानी तथा अनुगमनमा सक्रिय रहन निर्देशन दिँदै आएका छन् । गत आर्थिक वर्षमा मधेश प्रदेशमा एक अरब २५ करोड रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरिएको तथ्यांकले प्रहरीको सक्रियता र नीतिगत प्रतिबद्धता झल्काउँछ । मधेश प्रदेशको खुला सीमाना, आर्थिक गतिविधि र सामाजिक जटिलताका बाबजुद पनि प्रहरीले देखाएको सक्रियता अनुकरणीय मानिएको छ ।