
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) महन्थ–राजेन्द्र पक्षले निर्वाचन आयोगलाई जवाफ पठाएको छ। अध्यक्ष उपेन्द्र यादवले आधिकारिकताको दाबी गर्दै निवेदन दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगमा आइतबार जवाफ पठाएका हुन्।
आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को उपदफा २ बमोजिम १५ दिनको म्याद दिएर महन्थ पक्षलाई जवाफ दिन असार ७ गते पत्र पठाएको थियो।




आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले महन्थ पक्षको जवाफ आइतबार दर्ता भएको जानकारी दिए।

ठाकुरले निर्वाचन आयोगमा बुझाएको जवाफमा आफूहरूसँग कार्यकारिणी समितिको बहुमत रहेका दाबी गरेका छन्।
‘३८ जना कार्यकारिणी समितिको हस्ताक्षरसहित बहुमत सदस्यको बैठकले गरेको निर्णयको प्रतिलिपि आयोगमा बुझाएका छौं,’ महन्थ पक्षीय एक कार्यकारिणी सदस्यले भने।
महन्थ पक्षले आयोगमा बुझाएको पत्रमा उपेन्द्र पक्षले गरेको दाबी झुटो रहेको भनिएको छ।
‘अर्को पक्षको दाबी सत्य छैन, झुटो हो भनेर महन्थजीहरूले जवाफ दिनुभएको छ,’ प्रवक्ता श्रेष्ठले भने।
यसअघि उपेन्द्र पक्षले पनि आफूहरूसँग बहुमत रहेको भन्दै निर्वाचन आयोगमा दाबी पेश गरेका छन्। प्रतिउत्तरमा ठाकुर पक्षले पनि आफ्नो पक्षमा बहुमत रहेको दाबीसहित आयोगमा पत्र बुझाएका हुन्।
५१ सदस्यीय कार्यकारिणी समितिमा अल्पमतमा परेपछि अध्यक्ष ठाकुरले उपेन्द्र पक्षका २० जना हटाएर आफू पक्षीय नेतालाई राखेर कार्यकारिणी समितिमा हेरफेर गरेका थिए।
हेरफेर गरिएको केन्द्रीय कार्यकारिणी सदस्यहरूको हस्ताक्षर महन्थ पक्षले आयोगमा बुझाएका छन्।
‘पुस ७ को निर्णयका आधारमा हेरफेर गरिएको कार्यकारिणी समितिको हस्ताक्षर आयोगमा बुझाएका छौं,’ महन्थ पक्षीय एक कार्यकारिणी सदस्यले भने,‘त्यसबाहेक पुस ७ यता भएका निर्णयहरू पनि पेश भएको छ।’
प्रतिनिधिसभा विघटनपछि पुस ७ गते बसेको बैठकले कार्यकारिणी समिति हेरफेर तथा पुनर्गठन गर्ने अधिकार पार्टीको पहिलो वरियताका अध्यक्ष ठाकुरलाई प्रदान गर्ने निर्णय गरेको महन्थ पक्षको दाबी छ।
यसैगरी बैठकबाट भएको निर्णय प्रमाणीकरण तथा पार्टीको आधिकारिक पत्राचारको अधिकार पनि ठाकुरलाई प्रत्यायोजन गर्ने निर्णय त्यो बैठकले गरेको महन्थ पक्षको भनाइ छ।
यद्यपि, उपेन्द्र पक्षले भने पुस ७ को बैठकबाट यस्ता निर्णयहरू नभएको भन्दै महन्थ पक्षको दाबीलाई फर्जी भनेको छ।
प्रथम अध्यक्षको दाबी
जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव गरी दुईजना अध्यक्ष छन्। निर्वाचन आयोगमा पठाएको पत्रमा ठाकुरले आफूलाई पहिलो अध्यक्षको रूपमा प्रस्तुत गरेका छन्।
पुस ७ गतेको बैठकले ठाकुरलाई कार्यकारिणीको अधिकार दिएको भन्दै उनी प्रथम अध्यक्ष रहेको दाबी गरिएको छ।
आयोगका प्रवक्ता श्रेष्ठले पनि आफूहरूसमक्ष आएको पत्रमा ठाकुरलाई प्रथम अध्यक्षको रूपमा सम्बोधन गरिएको जानकारी दिए।
उनले दुबै पक्षले पेश गरेको तथ्य र प्रमाणको आधारमा आयोगले आवश्यक निर्णय गर्ने बताए।
यता, दुई अध्यक्ष राख्ने भनिएपनि पहिलो वा दोस्रो भनेर नतोकिएको उपेन्द्र पक्षको दाबी छ।
जसपा केन्द्रीय सदस्य अर्जुन थापा पार्टी विधानमा अध्यक्षको वरियता तोक्ने व्यवस्था नरहेको बताउँछन्।
साथै पुस ७ गतेको कार्यकारिणी समिति बैठकले अध्यक्ष ठाकुरलाई कुनै अधिकार प्रत्यायोजन नगरेको उनको भनाइ छ।
‘हाम्रो पार्टी विधानमा अध्यक्षको वरियता तोकिएको छैन, उहाँहरूले भनिरहेको प्रथम वा दोस्रो भन्ने कुरा आधारहीन छ,’ थापाले भने,‘विधानले दुबै अध्यक्षलाई समान हैसियत प्रदान गरेको छ।’
                
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          