धनुषामा मेमोरी कार्डको लागि बुहारीको हत्या

जनकपुरधाम २० माघ । मोबाइलमा लाग्ने ‘मेमोरी कार्ड’ को लागि विवाद हुँदा धनुषामा एक महिलाको हत्या भएको छ। धनुषाको औरही गाउँपालिका–२ बस्ने २२ वर्षीया चिन्तामणी पासवानको परिवारका सदस्यहरु मिलेर हत्या गरेका हुन्।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चिन्तामणीका श्रीमान् अनिलकुमार पासवान, ससुरा राधाकृष्ण पासवान, सासु कुमला पासवान र नन्द पुनिता पासवानलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार पत्रकार सम्मेलन गरेर पक्राउ परेकालाई सार्वजनिक गरेको छ।

बिज्ञापन

धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले मोबाइलको मेमोरीका लागि नन्द पुनितासँग विवाद भएको निहुँमा सबैले मिलेर चिन्तामणीको हत्या गरेको दाबी गरे। उनको घाँटी थिचेर हत्या भएको बस्नेत बताए।

‘मेमोरीको लागि विवाद हुँदा परिवारका सबै सदस्यले घाँटी थिचेर चिन्तामणीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ बस्नेतले भने, ‘हत्या गरेपनि अपराध लुकाउन उनीहरुले झुण्डिएको भनेर हल्लासमेत फैलाए। पछि उपचार गराउन भन्दै अटोरिक्सामा राखी प्रादेशिक अस्पताल पुर्‍याए।’

घटना भएको दिन शनिबार प्रादेशिक अस्पतालमा उपचारको लागि ल्याएको भनेपनि चिन्तामणीका परिवारका सदस्यहरु त्यहाँबाट फरार भएको एसपी बस्नेतले बताए। प्रहरीले कुमला र पुनितालाई जनकपुरधाम–४ पेठिया बजारबाट तथा राधाकृष्ण र अनिललाई धनुषाको जनकनन्दनी गाउँपालिका–२ बलहा टोलबाट पक्राउ गरेको उनले जानकारी दिए।