काँग्रेस प्रदेश २ अधिवेशन : रामसरोजलाई पराजित गर्दै कृष्ण यादव सभापतिमा विजयी

जनकपुरधाम – नेपाली कांग्रेसको प्रदेश २ नेतृत्व चयनका लागि भएको चुनावमा सभापतिमा शेरबहादुर देउवा पक्षका कृष्ण यादव विजयी भएका छन् ।

उनी १४१ भोटले विमलेन्द्र निधि पक्षका सभापतिका उम्मेदवार रामसरोजय यादवलाई पराजित गर्दै विजयी भएका हुन् ।

बिज्ञापन

कृष्ण ९ सय ९६ मत पाउँदा रामसरोजले मात्र ८५५ मत पाएका छन् ।

३० मत बदर भएको छ । मत परिणामको औपचारिक घोषणा हुन बाँकी छ ।

कृष्ण पार्टी रौतहटका सभापति हुन् भने रामसरोज काँग्रेप प्रदेश २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री समेत हुन् ।

रामसरोजलाई शेखर कोइराला, रामचन्द्र पौडेल पक्षको पनि समर्थन थियो भने कृष्ण यादवको मात्र देउवाको सहयोग थियो ।

६७ पदका लागि बिहीबार बिहान ९ बजेदेखि राति ८ बजेसम्म मतदान चलेको थियो ।

जम्मा १९ सय ५१ मतदाता रहेकोमा १८सय ८१ मत खसेको थियो ।

राति ११ बजेबाट मतगणना सुरु भएको थियो । शुक्रबार बिहानै सभापतिको नतिजा सार्वजनिक भइसकेको छ ।

अब उपसभापतिको मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।