
जनकपुरधाम । रास्वपा सांसद अमरेश कुमार सिंहले महामन्त्री कविन्द्र बुर्लाकोटी र प्रवक्ता मनिष झालाई धम्क्याएर धनुषा, महोत्तरी, सर्लाहीलगायतका जिल्लामा उम्मेदवारको टिकट लगेको भेटिएको छ ।
शुक्रबार बिहानदेखि सामाजिक सञ्जालमा भाइरल भिडियो क्लिप्समा उम्मेदवारको टिकट लैजान सिंहले के कस्ता हर्कत गरेका रहेछन् भन्ने एउटा पाटो खुलेको छ । धनुषाका सञ्चारकर्मी अरुण सिंहानियाको हत्यामा संलग्न रहेको ठहर गर्दै जिल्ला अदालतबाट तीन वर्ष कैद सजाय ठहरिएर जेल परेका धनुषा २ का सांसद रामविनोद यादवलाई दबाब दिएर टिकट दिन लगाएको खुलेको छ ।




भिडियोमा अमरेशले यादवसहित आफूले भनेको तीनजनालाई टिकट दिन पार्टी महामन्त्री बुर्लाकोटी र झासँग झगडा गरिरहेका देखिन्छन् । सिंहले बारम्बार धनुषा २ का लागि रामविनोदलाई टिकट दिन दबाब बढाउँदै ‘यस्तै हो भने पार्टीका उम्मेदवारहरू हार्ने र म मेरो क्षेत्रबाहेक कतै पनि जान्न’ भनिरहेका छन् ।

मधेशको ३२ सिटमा टिकट वितरण गर्दा क्षमताका आधारमा भन्दा पनि आर्थिक चलखेलका आधारमा दिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीबीच निकै विवाद भयो । पार्टी सभापति रवि लामिछाने र बालेन्द्र साह बालेन जनकपुर जाँदा बसेको यात्री होटल अगाडि पार्टी कार्यकर्ताहरू भेला भएर नाराबाजी नै गरे । मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले टिकट खरिदबिक्री भएको आरोप लगाउँदै पार्टी नै छाडिन् । धनुषा २ बाट निर्वाचित सांसद रामविनोद यादव सञ्चारकर्मी अरुण सिंघानियाको हत्यामा संलग्न रहेको ठहर हुँदै तीन वर्ष जेल परेका व्यक्ति रहेको खुल्यो ।
संगठित अपराधमा जन्मकैद पाएका सञ्जय साह टकलाका मुख्य सहयोगी रहेका उनी उम्मेदवारी दर्ता अगाडि मात्र रास्वपामा प्रवेश गरेका थिए । धनुषा १ का किशोरी साह कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगबाट उम्मेदवारी रद्द भयो । महोत्तरी १ का प्रमोद महतो विवादित क्रसर व्यवसायी रहेको खुल्यो । सर्लाही ३ का नरेन्द्र साह कलवार क्यासिनो सञ्चालक रहेको खुल्यो ।
सेन्ट्रल मिडिया प्रालिका सञ्चालक रहेका उनले होटल अपेरा महेन्द्रनगर, होटल भिस्वा वीरगन्ज, होटल रत्न विराटनगर र होटल प्याटिनियम काठमाडौंमा क्यासिनो सञ्चालन गर्दै आएका छन् । भिडियोमा सिंहले धनुषा २ का लागि रामविनोद यादवलाई टिकट दिन झगडा गरिरहेका छन् ।
उनले बाहुनबाहेक कसैले टिकट पाउनु हुँदैन भन्ने पक्षमा रहेको भन्दै भन्छन्, ‘बालेनजीसँग सहमति गरिसकेपछि मेरो बेइज्जत गर्नु हुन्छ । मैले वचन दिइसकेको छु । ‘अमरेश सिंह कम्प्युटर ब्रेन हो, सरेन्डर गर्ने र दास हैन ।, ‘गिरिजालाई खेलाएर आएको मान्छे हुँ, प्रचण्डलाई, ओलीलाई खेलाएको मान्छे हुँ, मजाक हो, हेप्ने?’ सिंहले आफूले लगेका टिकट करोडौंमा बेचेको आरोप लागेको छ । दिनेश साहूले रास्वपा नेता प्रमोद न्यौपानेलाई गरेको फोनको अडियो सार्वजनिक भइसकेको छ ।