
जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्की हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका सुरक्षा निकायका पदाधिकारी, कर्मचारी तथा सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गरेकी छन् ।
शुक्रबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले कठिन र चुनौतीपूर्ण घडीमा पनि निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न तहमा खटिएका सुरक्षा अधिकारीहरू, प्रशासनिक कर्मचारीहरू तथा सरोकारवाला निकायहरूको योगदानको उच्च प्रशंसा गरेकी हुन् ।




साथै, प्रदेश–प्रदेशमा रहेका सुरक्षा निकायका प्रमुख तथा निर्वाचन व्यवस्थापनमा संलग्न अधिकारीहरूलाई बधाई दिँदै प्रधानमन्त्री कार्कीले उनीहरूको समर्पण र जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामीले बनाएको योजना अनुसार तपाईंहरूले उत्कृष्ट रूपमा कार्यान्वयन गर्नुभयो। हामीले लिएको सङ्कल्पलाई तपाईंहरूले सफलतापूर्वक पूरा गरिदिनुभयो । यसका लागि म आभारी छु । मान्छेहरू मलाई बधाई भनिरहेका छन् । यसको वास्तविक हकदार तपाईंहरू हो ।’
कार्यक्रममा सुरक्षा निकायका अधिकारीहरूले प्रधानमन्त्री कार्कीको प्रशंसा गरेका थिए । उनीहरूले निर्वाचनका दौरान देखे भोगेका अनुभव पनि सुनाएका थिए ।