केपी ओली कप टी–२० क्रिकेट : मधेश प्रदेश फाइनलमा

पोखरा । केपी ओली कप टी–२० क्रिकेट दोस्रो सेमिफाइनलमा नेपाल एपिएफ क्लबलाई हराउँदै मधेश प्रदेश फाइनलमा पुगेको छ ।

एपिएफ क्लबलाई ११ रनले हराउँदै मधेश पहिलो पटक फाइनलमा पुगेको छ । उपाधिको लागि मधेशले आर्मीसँग खेल्नेछ ।

बिज्ञापन

मधेशले पहिले ब्याटिङ्ग गर्दै एपिएफलाई जितको लागि १ सय ९८ रनको विशाल विजयी लक्ष्य दिएकोमा एपिएफले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । एपिएफका सन्दीप जोराले ३१ बलमा ३ चौका र ५ छक्कासहित ५४ रन बनाए । प्रदीप ऐरी ४२ बलमा ३ चौका र ४ छक्कासहित ५५ रनमा आउट भए ।

तेस्रो विकेटका लागि प्रदीप र सन्दीपले १ सय ६ रनको शतकीय साझेदारी गरेका थिए । तर अन्य? नचल्दा जित्न सकेन ।

लोकेश बम ३२, सुमित महर्जन १३, आसिफ शेख ४, अरुण ऐरी शून्य र पुरन बिक ४ रनमा आउट भए ।

मधेशका विशाल पटेलले ४ ओभरमा ३५ रन दिएर ३ विकेट लिए । प्रदीप पासवानले ४ ओभरमा ३७ रन दिएर २ विकेट लिए भने कप्तान हरिशंकर शाहले ३ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो । मधेशको जितमा ओपनर अनिल शाहले ३६ बलमा २ चौका र ६ छक्कासहित ५७ रनको उत्कृष्ट इनिङ खेलेका थिए । यस्तै, इमरान शेखले ३२ बलमा ५० रन, पवन सरार्फ ३३, रुपेश सिंह २१, हिमान्शु दत्त १५, कप्तान हरिशंकर साह १० तथा विशाल शुश्लिङ र मयन यादवले समान ४ रन बनाए ।