
जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका प्रमुख दिनेश प्रसाद यादवले ठूलो सङ्ख्यामा करारका कर्मचारी भर्ना गर्न लागेको बुझिएको छ ।
नगर प्रमुख यादवले आयुर्वेद शाखाका सातौं तहका कर्मचारी अनिलकुमार झालाई निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेर ठूलो सङ्ख्यामा करारका कर्मचारी भर्नाका लागि विज्ञापन समेत गरिसकेका छन् ।




समान्य प्रशासन मन्त्रलायबाट पठाइएको प्रशासकीय अधिकृत हुँदा कर्मचारी भर्ना गर्न सहज नभए पछि मेयर यादवले निमित्त अधिकृत तोकेर आफू अनुकुलका मान्छेलाई करारमा भर्ना गर्न लागेको बुझिएको छ ।

गत १० माघमा ९ जना नगर प्रहरीका लागि, ३ चैतमा माध्यमिक शिक्षका लागि २, लेखापाल १, बाल विकासका लागि ४ र कार्यालय सहयोगीमा ६ गरी २२ वटा सिटमा पदपूर्तीका नगरपालिकाले विज्ञापन आह्वान गरेको थियो ।
त्यस्तै, १२ चैतमा नगरपालिकाले ४ श्रेणीमा १४ वटा सिटका लागि विज्ञापन गरेको थियो । कार्यालय सहयोगीमा ३ सिट, मेस्तरमा १ सिट, हलुका सवारी चालकमा १ र ९ वटा सिटमा कम्प्युटर अपरेटरका लागि विज्ञापन गरिएको थियो ।
अन्य विज्ञापनमा अहिलेसम्म कुनै चरणको परीक्षा नभए पनि नगर प्रहरीको पहिलो चरणको शारीरिक परीक्षण भइसकेको छ । गत चैत ३० मा सफल नगरपालिकाले उम्मेदवारको लिस्ट प्रकाशन समेत गरिसकेको छ । ९ वटा सिटका लागि लिइएको पहिलो चरणको परीक्षामा १७ जना उम्मेदवार सफल भए ।
नगर प्रहरीमा पहिलो चरणको सफल उम्मेदवारमध्ये ६ जना नगर प्रमुख यादवकै वडाका छन् । बाँकी उम्मेदवार अन्य वडाका छन् । स्रोतका अनुसार ९ वटै सिटमा वडाध्यक्षहरू, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले बाँडफाट गरेका छन् ।
नगरपालिका स्रोतका अनुसार कम्पयुटर अपरेटरको ९ वटै सिटमा नगरपालिकाको ९ वटै वडाध्यक्षको भागमा परेको छ । वडाध्यक्षहरूले जुन उम्मेदवारको नाम सिफारिस गर्छन् उनैलाई नियुक्ति दिनेगरी नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षहरूबीच सम्झौता भएको स्रोतको दावी छ । ती स्रोतका अनुसार सिट पहिले नै बाँडफाँट भइसकेको अवास्थामा विज्ञापन आह्वान, विभिन्न चरणको परीक्षा औपचारिकता पूरा गर्नका लागि मात्रै हो । पालिकाको यहि परिपाटीले गर्दा योग्य व्यक्तिले आवेदन दिँदैनन् ।
मुलुकमा सुशासन कायम र यस्ता वेथिति अन्त्यका लागि अहिलेको सरकारले प्रतिवद्धता गरिरहँदा स्थानीय तहमा भने करार कर्मचारीको नाममा आफ्ना कार्याकर्ता भर्ना गर्ने परम्परा अझैँ अन्त्य हुनक सकेको छैन ।
