मधेश प्रदेश : ९८३ सीमा स्तम्भको मर्मत सम्भार र रङरोगन
जनकपुरधाम । भारतीय सिमानासँग जोडिएको मधेश प्रदेशका जिल्लामा सीमा स्तम्भहरुको मर्मत सम्भार र रङरोगन गरिएको छ ।
सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले भारतसँग जोडिएको मधेश प्रदेशको सिमाना रहेका ९८३ सीमास्तम्भको मर्मत सम्भार र रङरोगन पूरा गरेको हो । गएको कात्तिक १६ गतेदेखि वैशाख ३ गतेसम्म चलाइएको अभियानअन्तर्गत २९६ सीमास्तम्भको रङरोगन, ६४६ वटाको सामान्य मर्मत, ३६ वटाको मध्यम स्तरको मर्मत र पाँचवटा स्तम्भको पूर्ण मर्मत गर्ने काम सम्पन्न भएको सशस्त्र प्रहरी मधेश प्रदेशको मुख्यालय बर्दिबास महोत्तरीले जनाएको छ ।

बाँकी बिजोड नम्बरका ९१ वटा सीमा स्तम्भमा विवाद देखिएको र दुवै देशका सीमा सुरक्षा अधिकारीलगायत सरोकारवालाहरुसँगको छलफल र सहमतिपछि मर्मत-सम्भार र रङरोगन गरिने बताइएको छ ।

बिज्ञापन

भारतसँग जोडिएको मधेश प्रदेशको झन्डै ४६१ किलोमिटर सिमानामा २२७ वटा ठुलो जंगेपिलर, ५८४ वटा सहायक, तीन हजार दुई सय चारवटा सानोलगायत चार हजार २७ वटा पिलर रहेको सशस्त्र प्रहरीले जनाएको छ ।