९५ प्रतिशत मतसहित पूर्वमाओवादीका प्रतीक्षा तिवारी बनिन् एमालेको ‘म्यान अफ द इलेक्सन’

जनकपुरधाम । नेकपा (एमाले) को ११ औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ९५ प्रतिशत मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा प्रतीक्षा तिवारी ‘म्यान अफ द इलेक्सन’ भएकी छन् ।

बिहीबार सार्वजनिक नजिता अनुसार अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीसहित ३०१ सदस्यीय केन्द्रीय समितिका उम्मेदवारलाई खसेको मतको ९५ प्रतिशत अर्थात् २ हजार १२० मत प्राप्त गर्दै तिवारी ‘म्यान अफ द इलेक्सन’ भएकी हुन् ।

बिज्ञापन

तिवारी विघटित प्रतिनिधि सभाकी सदस्यसमेत हुन् । त्यसअघि उनी तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट दोस्रो संविधान सभा सदस्य थिइन् । उनी १० औं महाधिवेशनमा निर्विरोध केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् ।

२ हजार २६३ प्रतिनिधिमध्ये ९८ प्रतिशत अर्थात् २ हजार २२७ मत खस्दा तिवारीले खसेको मतको ९५ प्रतिशत मत प्राप्त गरेकी हुन् । दोस्रोमा मधेशीतर्फको महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित सविता यादवले खसेको मतको ९२ प्रतिशत अर्थात् २०५२ मत प्राप्त गरेकी छन् ।

यस्तै खसेको मतको ९१ प्रतिशत अर्थात बराबर मत २०४४ भगवती चौधरी र ज्वालाकुमारी साहले प्राप्त गरेका छन् । उनीहरु दुवै जना विघटित प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचित सदस्य हुन् ।

यस्तै ९० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नेमा मधेशी महिलातर्फबाट केन्द्रीय सदस्यमा रामरतीदेवी रामले २०३९ र बागमती प्रदेश महिलातर्फ केन्द्रीय सदस्यमा निरकुमारी कुँवर उर्फ निरु दर्लामीले २००५ मत प्राप्त गरेकी छन् । करिव ९० प्रतिशत अर्थात २ हजार मत कटाउनेमा सरिता कुमारी गिरी (यादव) समेत रहेकी छन् । मधेश प्रदेशबाट महिलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित यादवले २००३ मत पाएकी छन् ।