प्रतिस्पर्धामा ३ जना अगाडि, बाँकी ४ मा कसले मार्ला बाजी??
काठमाडौँ । नेपाल प्रहरीमा एकैपटक ६ जना अतिरिक्त महानिरीक्षकको दरबन्दी रिक्त हुने भएको छ । आगामी चैत ५ गते प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँगै ५ जना एआईजी पनि अवकाश हुने भएका छन् । बाँकी रहेका तीन एआईजीमा एकजना आईजीपी बन्ने भएकाले एकसाथ ६ जना एआईजी बढुवाको ढोका खुल्ने भएको हो ।
नेपाल प्रहरीको जनपदतर्फका ८ एआईजीमध्ये प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख दीपक थापा, प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ मात्रै सेवामा रहनेछन् । यी मध्येबाट एकजनाले चैत ५ गतेदेखि प्रहरीको नेतृत्व गर्ने छन् ।
अरु एआईजीहरू प्रशासन विभाग प्रमुख टेकप्रसाद राई, कार्य विभाग प्रमुख बुद्धिराज गुरुङ, मानवस्रोत विभाग प्रमुख दुर्गा सिंह, अपराध अनुसन्धान विभाग प्रमुख कुबेर कडायत र जनकराज भट्टराई कुँवरसँगै अवकाश हुनेछन् ।
बाँकी रहेका डीआईजीहरूमा पनि सिनियर तीनजना अवकाश हुनेछन् । आईजीपी कुँवरकै ब्याचका गणेश चन्द, भोलाबहादुर रावल र ध्रुवबहादुर राउत पनि अवकाश हुनेछन् ।
६ एआईजीका ७ दाबेदार डीआईजी
नेपाल प्रहरीमा अब रिक्त हुने ६ जना एआईजीका लागि तीन ब्याचका डीआईजीहरू प्रतिस्पर्धामा छन् । भर्ना हुँदा नै तीन ब्याचका उनीहरू एसएसपीबाट डीआईजी पनि तीन चरणमै बढुवा भएका थिए ।
तीमध्ये सबैभन्दा सिनियर तीनजना छन् । चन्द्र कुबेर खापुङ, लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेल । उनीहरू २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन् । खापुङ र आचार्य २०७९ चैत ३० गते डीआईजीमा बढुवा भएका हुन् । शर्मा भने त्यतिबेलाको बढुवामा छुटेर २०८१ जेठमा मात्रै डीआईजी भए ।
खापुङ अहिले सीआईबीमा, आचार्य मधेस प्रदेश प्रमुख र शर्मा बागमती प्रदेश प्रहरी प्रमुख छन् ।
यी तीनै जना प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँगै प्रहरी निरीक्षकमा प्रतिस्पर्धा गरेका हुन् । वैकल्पिक सूचीमा रहेका उनीहरू साढे ७ महिनापछि मात्रै भर्ना भए ।
संसदमा पेस भइसकेको प्रहरी विधेयक आगामी भदौ १९ सम्ममा पारित भएर कार्यन्वयनमा आएन भने उनीहरूमध्ये एकजना प्रहरी महानिरीक्षक बनेर २ महिना संगठनको नेतृत्व गर्ने अवसर पनि पाउनेछन् ।
चैत ५ गतेपछि रिक्त हुने एआईजीमा उनीहरू तीनजनाको सबैभन्दा बलियो सम्भावना छ ।
त्यसपछि शर्मासँगै डीआईजीमा बढुवा भएका दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारीको एआईजी बन्ने सम्भावना छ । उनीहरू डीआईजीमा सिनियर भए पनि भर्नामा भने अगाडि अर्को ब्याच छ ।
तर लुम्बिनी प्रदेश प्रहरी प्रमुख दानबहादुर कार्की र कोसी प्रदेश प्रहरी प्रमुख राजन अधिकारी भने चैत ५ पछि एआईजीमा बढुवा हुने सम्भावना बलियो छ ।
उनीहरूसँगै डीआईजी बनेका राष्ट्रिय प्रहरी प्रतिष्ठानमा कार्यरत डीआईजी मनोज केसी अहिलेको बढुवामा छुट्ने सम्भावना छ । उनी छुट्दा २०५२ को टोलीबाट एआईजी बन्ने छन् । त्यो टोलीबाट सिद्धिविक्रम शाह एआईजी बन्ने सम्भावना देखिन्छ ।
२०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएको सिद्धिविक्रम शाहसहितको टोली पनि एआईजीको बलियो प्रतिस्पर्धी हो । तर यो टोलीबाट एकजना मात्रै एआईजी बन्ने सम्भावना अहिले देखिएको छ । त्यसमा बलियो प्रतिस्पर्धी पहिलो नम्बरका शाह नै हुन् । उनी एसएसपीसम्म २०५४ सालमा भर्ना भएको टोलीभन्दा अगाडि थिए । तर डीआईजी बढुवामा आईजीपी कुँवर र तत्कालीन गृहमन्त्री रवि लामिछानेले यो टोलीलाई नै छुटाएर बढुवा गरेका थिए ।
शाहसहित उनको ब्याचका ५ जना २०८१ मंसिरमा डीआईजीमा बढुवा भए । उनीसँगै बढुवा भएका सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक पनि एआईजीको लागि लबिइङमा छन् । एसएसपीमा अन्याय भएको भन्दै एआईजीमा दानबहादुर कार्कीसहितको टोलीलाई छाडेर बढुवा हुनु पर्ने उनीहरूको तर्क छ ।
तर दानबहादुर कार्कीसँगै बढुवा भएका मनोज केसीको अहिले एआईजी बन्ने सम्भावना कमजोर छ । यो सरकारले उनलाई सुरुदेखि नै रुचाएको छैन । सरकार बनेलगतै उनलाई विशेष ब्युरोबाट हटाइएको थियो । उनीसँगै बढुवा भएका कार्की र अधिकारीले प्रदेश प्रमुखको जिम्मेवारी पाए । तर केसी भने प्रहरी प्रतिष्ठानमै थन्किए ।
अब पनि उनलाई छुटाएर विशेष ब्युरोका सिद्धिविक्रम शाहलाई बढुवा गर्ने सम्भावना बलियो छ ।
यसपछि २०८१ पुसमा डीआईजी बनेका ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया पनि एआईजीका दाबेदार हुन् । तर अहिले उनीहरू एआईजी बन्ने सम्भावना कम छ । उनीहरू सबै २०५४ साल चैत १८ मा भर्ना भएका हुन् ।
यसपटक एआईजी बन्ने होडले भावी नेतृत्वमा पुग्ने अधिकारीहरूको समेत संकेत गर्नेछ । यो टोलीबाट अहिलेकै अवस्थामा एआईजी बनेको ८ महिनापछि नेतृत्वमा पुग्ने अवस्था छ ।