विपिन यादव
जनकपुधाम । नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) अशोक कुमार महतो प्रहरी सेवामा अनिवार्य अवकाशमा गएका छन् । सोमबारबाट अनिवार्य अवकाशमा गएका सई महतोलाई प्रहरी उपरीक्षक (एसपी ) भुवनेश्वर तिवारीले जिल्ला प्रहरी कार्यालय धनुषामा एक समारोहका बीच बिदाई गरेका हुन् ।
बिदाई कार्यक्रममा सई महतोले आफ्नो सेवा अवधिमा गरेका अनुभव सहितको मन्तव्य राखेका थिए । अनिवार्य अवकाशमा गएका सई महतो २०५२ बैशाख १५ गते प्रहरी जवान पदबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । उनले नेपाल प्रहरी जवान देखि सईसम्म गरेर ३० वर्ष बिताएका छन् ।
उनले सई पदमा रहदाँ नेपाल प्रहरीको महत्वपूर्ण निकाय सुरक्षाको भूमिका निर्वाह गरेका छन् ।
बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी एसपी तिवारीले अनिवार्य अवकाशमा गएका सई महतोले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको बताए ।
उनले अपराध न्यूनीकरण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, नीति निर्माण, सांगठनिक सुदृढीकरणका साथै संगठनको रणनीतिक कार्ययोजना कार्यान्वयनमा गरेको अतुलनीय योगदानको पनि चर्चा गरेका थिए ।
प्रहरी एसपी तिवारीले अनिवार्य अवकाशमा गएका सईबाट सेवा निवृत्त जीवनपछि पनि संगठनको हितको लागि सदैव रचनात्मक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।
उक्त समारोहमा प्रहरी एसपी तिवारीले सेवानिवृत्त हुन लागेका सई महतोलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा प्रहरी नायव निरीक्षक (डिएसपी) बरुण बहादुर सिंह र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को उपस्थिति थियो ।