अप्पन जनकपुर
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न लागेकोमा अग्रिम बधाई दिएका छन् । ओलीलाई प्रधानमन्त्री बनाउन दुई तिहाइ सांसदले समर्थन गर्ने उनको दाबी छ ।
फेसबुकमा स्टाटस लेख्दै बस्नेतले ओलीलाई बधाई दिएका हुन् । संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री बनाउन कांग्रेस र एमालेले आजै सरकार गठनका लागि राष्ट्रपति समक्ष आग्रह गर्ने उनले बताएका छन् ।
बस्नेतले लेखेका छन्, ‘आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा विश्वासको मत लिने प्रक्रिया सकिएर विश्वासको मत नपाएपछि सभामुखले राष्ट्रपति कार्यालय शीतल निवासमा विश्वासको मत परिणाम पठाउनु हुनेछ । अनि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ । यो प्रक्रिया आजैबाट शुरु हुनेछ ।’
साना दल समेटेर दुई तिहाइ पुर्याई संविधानमा रहेका जटिलता फुकाउने कांग्रेस–एमालेको योजना अन्तरगत कांग्रेसका ८८, एमालेका ७७, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ४, जनता समाजवादी पार्टी (जसपा) नेपालका ५ र नागरिक उन्मुक्ति पार्टीका ३ सांसदले हस्ताक्षर गरिसकेको उनले जानकारी दिएका छन् ।
नयाँ सरकार गठनको प्रक्रियालाई जटिल बनाउन प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको बस्नेतको आरोप छ ।
‘प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि धारा ७६ को उपधारा ३ को सरकार गठन हुने जिकिर गर्दै काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनाउने नाममा रचिएको षडयन्त्र असफल हुनेछ,’ बस्नेतले लेखेका छन् ।