अप्पन जनकपुर
जनकपुरधाम । नेकपा एमाले धनुषाको ८ औँ जिल्ला अधिवेशन शुरु भएसंगै गुटबन्दीको ध्रुवीकरण तीव्ररुपमा देखिएको छ । लोकतान्त्रिक अभ्यासको रूपमा सर्वसम्मत नेतृत्व चयन गर्न शीर्षनेतृत्वले अपिल गरे पनि आकांक्षीहरूको बढ्दो सक्रियता र गुटबन्दीका कारण सर्वसम्मत नेतृत्व चयन हुनेमा शंका देखिएको छ ।
सातौँ जिल्ला अधिवेशनको क्रममा नेतृत्व चयनमा उग्रविवाद देखिए पनि अन्तिमसमयमा केन्द्रीय तहकै निर्देशनानुसार सर्वसम्मत रुपमा राजकिशोर यादवलाई अध्यक्षमा चयन गर्दै विवादलाई टारेका थिए । तर यसपटक भने विगतभन्दा फरक अवस्था देखिएको टिप्पणी एमालेवृत्तमा हुन थालेको छ ।
जिल्ला अध्यक्ष पदकै लागि सबैभन्दा बढी आकांक्षी जिल्ला पदाधिकारी नै देखिएका छन् । जिल्ला अध्यक्षको दौडमा वर्तमान अध्यक्ष राजकिशोर यादवसँगै उपाध्यक्ष भोला यादव, सचिव तेजनारायण यादव, लक्ष्मी यादव र सन्तोष यादव आकांक्षी देखिएका छन् ।
त्यस्तै सचिव तेजनारायण यादव नेकपा विभाजन भएपछि एमाले पार्टी नै रोजेका थिए । उनी यस अघि माओवादीमा थिए । जनकपुरधाममा शनिबार उद्घाटन समापन भएसंगै आकांक्षीहरुको गुटगत चहलपहल निकै बढेको छ भने विभिन्न गुट उपगुटहरुको बैठक पनि निरन्तर रुपमा जारी रहेको छ ।
अर्कोतर्फ एमालेले सर्वसम्मत रुपमा जिल्ला नेतृत्व चयनका लागि शीर्षनेतृत्वले आफ्नो सक्रियता देखिएको छ । यद्यपि यसपटक भने राजकिशोर यादवलाई अध्यक्ष बन्नका लागि निकै भारी पर्ने देखिन्छ । उनीमाथि पार्टीभित्र र बाहिर पनि निकै आरोप प्रत्यारोपसंगै नेता तथा कार्यकर्ताहरुको असन्तुष्टि पनि रहेको कार्यकर्तापंक्तिमा चर्चा हुने गरेको छ । आफूलाई संस्थापन समूहको दाबी गर्ने राजकिशोर यादव आफ्नै समूहलाई मिलाउन सकिरहेका छैनन् । उनकै क्षेत्रका स्वर्गीय नेता योगनारायण यादवका श्रीमती बबिता यादवलाई नेता उमाशंकर अरगरिया र संजीव झा सुरजको समर्थनमा लक्ष्मी यादवलाई जिल्ला अध्यक्ष पदको आकांक्षी उम्मेदवार बनाए पछि राजकिशोर यादवलाई भारी परेको चर्चा कार्यकर्ताबीच व्याप्त छ ।
त्यस्तै एमाले सचिव रघुवीर महासेठ–जुली महतो समूहबाट भोला यादव आकांक्षी उम्मेदवार रहेका छन् । पूर्व माओवादी नेता रहेको तेजनारायण यादवलाई सभामुख रामचन्द्र मण्डलको आन्तरिक समर्थन रहे पनि एमालेजनभित्र माओवादी पक्षलाई उपेक्षा गर्दै आइरहेको गुनासो एमालेमा प्रवेश गरेका पूर्वमाओवादीबीच चर्चा हुने गरेको छ ।
त्यसैगरि पूर्व कांग्रेसी सन्तोष यादवलाई शुरुमा नेता महासेठ र नेतृ महतोले महत्व दिए पनि अहिले आएर उनलाई कित्ताकाट गरेको गुनासो उनीसंगै प्रवेश गरेका पूर्वकांग्रेसजन बीच चर्चा भइरहेको छ । जसले गर्दा उनी अध्यक्ष पदमा दाबेदारी रहने भन्नेमा पनि शंका रहेको एमालेवृत्त टिकाटिप्पणी हुन थालेको छ ।
यता पार्टीका शीर्ष नेताहरुले सर्वसम्मत नेतृत्व चयन गर्न प्रतिनिधिहरुलाई सुझाव दिएका छन् ।
जिल्ला अधिवेशनको अन्तिम दिन नयाँ नेतृत्व चयन गरिने कार्यक्रम रहेको छ । तीन दिनसम्म चल्ने अधिवेशनमा ६५० प्रतिनिधिहरू सहभागी रहेका छन् । यस अधिवेशनले अध्यक्षलगायत पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिने निर्वाचन समितिले जनाएको छ ।
जिल्ला अधिवेशन उद्घाटन सत्रमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालमा गणतन्त्रको विरुद्धमा भइरहेका प्रयत्नहरूको कडा आलोचना गर्दै वंशवाद र अनिर्वाचित सत्ताको अभ्यासलाई एमालेले कहिल्यै स्वीकार नगर्ने बताए । पूर्वमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘श्री ५ बा र श्री ५ नातीको व्यवस्था एमालेको दृष्टिमा अस्वीकार्य छ । हामी त्यस्तो सत्ताविरुद्ध एक्लै भए पनि लड्छौं, र पराजित गर्छौ ।’ उनले पूर्वराजाको नाममा पुनःसत्तामा फर्किने चाहना बोकेका तत्वहरूले संविधान र जनमतको अपमान गरिरहेको बताए । कांग्रेससंगको सहकार्यबारे व्यंग्य गर्दै भने, ‘कांग्रेससंग अहिले हाम्रो सम्बन्ध मादल र हार्मोनियमजस्तो छ । मिठास त छ । तर, ताल पनि अलग–अलग । हामी सहकार्य गर्छौ । तर, प्रतिस्पर्धा बिर्सिन्नौं ।’ उनले विगत पञ्चायती शासन र वर्तमान लोकतान्त्रिक प्रणालीबीचको तुलना गर्दै व्यापक विकास भएको दाबी गरे ।
सो कार्यक्रममा एमालेका सचिव रघुवीर महासेठ, मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, जिल्ला इन्चार्ज जुली कुमारी महतो, उमाशंकर अरगरीया, हरिनारायण महतोलगायत नेताहरूले मधेश प्रदेशको विकास, समृद्धि र राष्ट्रिय अखण्डताका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको बताए ।