
जनकपुरधाम । धनुषाधाम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत संजीत दासले ठेकेदारसँग मिलोमत्तो गरी नियम विपरित भुक्तानी गरेको पाईएको छ ।
धनुषाधाम नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य आधा भन्दा पनि कम पूरा भएको अवस्थामा बिना म्यादकै ठेकेदारलाई २५ लाख भुक्तानी दिएको पाईएको हो । उक्त रकम भुक्तानीको लागि निर्माण कम्पनीका ठेकेदारसँग मिलोमत्तो गरेको आरोप छ ।






विगत ६ बर्षदेखि निर्माणधीन रहेको धनुषाधाम नगरपालिकाको प्रशासनिक भवन अहिलेसम्म मात्र ४१.५५ प्रतिशत पूरा भएको अवस्थामा बिना म्यादकै २५ लाख बढी भुक्तानी दिएको हो । महालेखा परीक्षकको प्रतिवेदन अनुसार नगरपालिकाले नियम बमोजिम दिनुपर्ने म्याद नै नथपि २५ लाख ४६ हजार रुपैयाँ भुक्तानी गरिदिएको हो ।
झन्डै ६ वर्षअघि सुरु गरिएको धनुषाधाम नगरपालिकाको प्रशासनिक भवन फेज–२ अझै अधुरो अवस्थामा रहेको छ । नगरवासीलाई प्रभावकारी सेवा प्रदान गर्नका लागि अत्यावश्यक मानिएको उक्त भवनको निर्माण कार्य सन्तोषजनक ढंगले अगाडि बढ्न सकेको छैन ।
२०७८ साल असार ३० गते रविना-स्वेता जेभी, जनकपुरसँग नगरपालिकाले रु ३ करोड २५ लाख ९४ हजार २५७ रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार भवन निर्माण २०७९ असार १५ भित्रै सम्पन्न हुनुपर्ने थियो । तर तोकिएको म्यादमा काम सम्पन्न नभएपछि दोस्रोपटक म्याद थप गर्दै २०८१ असार ३० सम्मको समय दिइएको थियो । हालसम्म पनि निर्माण कार्य सम्पन्न नहुँदा नगरपालिका अझै अस्थायी धर्मशालाबाट सेवा दिइरहेको छ, जुन प्रशासनिक दृष्टिले उपयुक्त मानिँदैन ।
लेखा परिक्षण प्रदिवेदन २०८०÷०८१ अनुसार, हालसम्म चौथो रनिङ बिलमार्फत कुल रु १,३५,४३,००८ खर्च भइसकेको छ । यो रकम कुल लागतको मात्र ४१.५५ प्रतिशत हो, जुन प्रगतिको हिसाबले अत्यन्त निराशाजनक मानिन्छ । समयसीमा लगभग समाप्त भइसकेको अवस्थामा पनि कामको गति सुस्त हुनु पालिकाको कमजोर अनुगमन तथा निर्माण व्यवसायीको गैरजिम्मेवारीलाई देखाउँछ ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२० तथा ऐनको दफा ५६ अनुसार म्याद थपको लागि ठेकेदारले म्याद सकिनु २१ दिनअघि निवेदन दिनुपर्ने व्यवस्था भए तापनि हालसम्म म्याद थपका लागि कुनै निवेदन वा प्रमाण पेस गरिएको छैन । यस अवस्थालाई मध्यनजर गर्दै, नियमावलीको नियम २१ अनुसार सम्झौता रकममा प्रतिदिन ०.०५ प्रतिशतका दरले क्षतिपूर्ति लागु गरी मात्र थप म्याद दिने व्यवस्था लागु गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।–महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी, ठेक्का सम्झौताअनुसार रु २५,४६,००० को पेश्की जमानत (नेविल बैंक लिमिटेड) लिइएको थियो । तर, नियमावलीको उपनियम ११३ (४)(३) अनुसार जमानतको म्याद कार्य सम्पन्न मितिभन्दा कम्तिमा १ महिना बढीको हुनुपर्ने प्रावधान विपरीत, उक्त जमानतको म्याद २०८१ वैशाख २ मै समाप्त भइसकेको छ, र अहिलेसम्म यसको म्याद थपको प्रमाण समेत पेश गरिएको छैन । म्याद थप नै नगरी नगरपालिकाका अधिकृत दासले ठेकेदारसँग मिलोमत्तो गरी २५ लाख बढी रकम भुक्तानी गरेको हो ।
निर्माणको ढिलासुस्ती र प्रशासनिक असहजताको कारण हाल नगर कार्यालय पर्यटक धर्मशालाबाट सञ्चालन हुँदै आएको छ, जसले नगरको साख र सेवा प्रवाहमा प्रतिकूल प्रभाव पारिरहेको छ । यही पृष्ठभूमिमा केही दिनअघि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), धनुषाधाम नगर समिति ले नगर कार्यालयलाई तत्काल आफ्नै भवनमा सार्न माग गर्दै औपचारिक ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा निर्माणमा भएको ढिलासुस्ती, अनियमितता सच्याउन र कार्य शीघ्र सम्पन्न गर्न दबाब दिइएको छ ।
यसरी, निर्माण व्यवसायीको गैरजिम्मेवारी, पालिकाको कमजोर अनुगमन, र कानुनी प्रक्रियाको उपेक्षाका कारण हालसम्म करिब रु ५४ लाख ८१ हजार ६ सयको खर्चको प्रमाण पेश नगरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।