

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले सीमा क्षेत्रबाट हुने चोरी–निकासी, पैठारी र अवैध आवतजावत रोक्न थप कडाइका साथ सुरक्षा व्यवस्था लागू गर्न निर्देशन दिएका छन् ।
मंगलबार सशस्त्र प्रहरी प्रधान कार्यालयमा भर्चुअल माध्यममार्फत सीमा क्षेत्रमा तैनाथ सबै तहका युनिट कमाण्डरलाई सम्बोधन गर्दै आइजी अर्यालले जवाफदेही, जिम्मेवार र चेन अफ कमाण्ड कायम गर्ने कुरामा जोड दिएका हुन् ।



उनले सीमा सुरक्षामा कुनै कमजोरी देखिएमा वा शंका लागेमा सम्बन्धित कमाण्डर स्वयं छानबिन र कारबाहीको भागीदार बन्ने स्पष्ट पारे । उनले हरेक कमाण्डरलाई मुलुक, जनता र संगठनको हितमा विवेक प्रयोग गर्न स्वतन्त्र रहेको भन्दै सकारात्मक कार्यका लागि मुख्यालयको आदेशको पर्खाइमा बस्न नपर्ने निर्देशन दिए ।

साथै, सुरक्षाकर्मीलाई आवश्यक आचरणबारे निरन्तर काउन्सिलिङ गर्न र आचरण विपरीत कार्य गर्नेहरूमाथि कठोर कदम चाल्न आदेश दिए । सीमा क्षेत्रमा शंकास्पद व्यक्तिलाई विशेष निगरानीमा राख्न, अवैध आवतजावत रोक्न र सीमा व्यवस्थित गर्न हरेक सुरक्षाकर्मी सदैव चनाखो बन्नुपर्ने उनको भनाइ थियो ।
त्यस क्रममा सीमा सुरक्षा विभाग प्रमुख अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरले सबै कमाण्डरलाई सीमा अपराध रोकथाममा सरोकारवाला निकाय तथा स्थानीय समुदायसँग घनिष्ठ समन्वय र सहकार्य गर्न निर्देशन दिए। उनले सीमासम्बन्धी अभिलेखीकरण, तथ्याङ्क व्यवस्थापन र कार्यसम्पादनमा संवेदनशील बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सीमासँग जोडिएका बाहिनी मुख्यालय प्रमुखहरूले हाल भइरहेको गतिविधि र चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए भने गण, गुल्म तथा बिओपी कमाण्डरहरूले सीमा सुरक्षाको अवस्था, समस्या र आगामी योजनाबारे जानकारी गराएका थिए ।