जनकपुरधाम । धनुषाधाम नगरपालिकाका जनप्रतिनीधिले सडक चोरेको भन्दा पत्यार नलाग्न सक्ला, तर एक वडाध्यक्षले सडक चोरेको छ ।
धनुषाधाम वडा नं. ३ का वडाध्यक्ष जयनारायण यादवमाथि सार्वजनिक बाटो अतिक्रमण गरी त्यसमा प्रयोग भएको ग्राभेल अन्यत्र लगेको गम्भीर आरोप लागेको छ ।
स्थानीयवासीका अनुसार धनुषाधाम देखि रघुनाथपुर जाने यो बाटो सरकारी नक्सा अनुसार २२ फिट चौडाइको रहेको र सडक डिभिजन कार्यालयले केही समयअघि ग्राभेल गरिसकेको थियो । तर अहिले वडाध्यक्ष यादवले अवैध रूपमा १० फिट बाटो मात्र छोडेर बाँकी सडक खनेर ग्राभेल अन्यत्र लैजाँदैछन् ।
स्थानीयवासीहरू भन्छन्, हामीले स्पष्ट देखेका छौं कि बाँकी ग्राभेल हटाएर कहाँ लैजाँदैछन् भन्ने जानकारी कसैलाई छैन । यो वडा अध्यक्ष यादवले खुला ढंगले सार्वजनिक सम्पत्तिमाथि अतिक्रमण र भ्रष्टाचार हो ।
धनुषाधामलाई धार्मिक नगरीको रूपमा चिनिन्छ । यहाँको सामाजिक, सांस्कृतिक र धार्मिक महत्वलाई दृष्टिगत गर्दै विकास, संरक्षण र जनसेवामा जनप्रतिनिधिहरूले भूमिका खेल्नुपर्ने अपेक्षा हुन्छ । तर स्थानीयवासीहरूको भनाइ अनुसार यहाँका जनप्रतिनिधिहरू व्यापारीहरुलाई सेवा सुबिधा दिनुको सट्टा सार्वजनिक सम्पत्तिमाथि आँखा लगाउने, नागरिकलाई असहज बनाउने प्रवृत्तिले हामी निराश भएका छौं ।
उक्त घटनाको रिपोर्टिङका लागि ग्राउन्ड रिपोर्टिङ गर्न गएकी सँचारकर्मी चान्दनी झालाई वडाध्यक्ष जयनारायण यादवले खुलेआम धाकधम्की दिएको आरोप समेत लागेको छ । यो घटनाले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको छ ।
स्थानिय स्तरका जनप्रतिनिधिबाटै यस्तो कार्य हुनु निन्दनीय छ । सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुको सट्टा त्यसैमा अनियमितता र दमन गर्नु लोकतान्त्रिक मूल्यविपरीतको कार्य हो ।