सर्लाहीमा सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाखको अबैध समान बरामद

जनकपुरधाम । सशस्त्र प्रहरी बल, नेपाल सर्लाही २ गण र मलंगवा भन्सार कार्यालयको संयुक्त विशेष टोलीले सर्लाहीको ईश्वरपुर नगरपालिका–२ स्थित गएराती एकजना तस्करको पशुपालन फर्ममा छापामारी ठूलो परिमाणको अवैध कपडा र चुरोट बरामद गरेको छ ।

बिहीवार राती ८ बजेर ५ मिनेटमा सशस्त्र प्रहरी बल र मलंगवा भन्सारको टोलीद्वारा तुलसी पशुपालन फर्ममा गरिएको संयुक्त छापामारीबाट ३१ पोका अबैध कपडा र प्लाटिनियम ब्रान्डका ७० कार्टुन चुरोट बरामद गरेकाे हाे । बरामद कपडा र चुरोटको अनुमानित बजार मूल्य १ करोड ५८ लाख ५९ हजार रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

बिज्ञापन

छापामारी गर्ने संयुक्त टोलीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गणका प्रमुख एसपी देव बहादुर चन्दको नेतृत्वमा ५१ जना सुरक्षाकर्मी र भन्सार अधिकृत कमल बहादुर खड्काको टोलीका ५ जना कर्मचारी सहभागी थिए । सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासका प्रमुख डिआईजी कृष्ण ढकालले लगातार रुपमा भइरहेको तस्करी नियन्त्रणको अभियान अन्तर्गत यो अहिलेसम्मकै ठूलो सफलता रहेको बताएका छन् ।

डिआईजी कृष्ण ढकालले पदभार सम्हालेयता दुई महिनाको अवधिमा मात्रै प्रदेश २ भित्र विभिन्न १७ वटा अपरेसनमार्फत १७ करोड,१२ लाख ४६ हजार ४८६ रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान र १ हजार २८० किलो २१६ ग्राम लागुऔषध गाँजा र ८२ हजार,९६६ नशालु क्याप्सुल ट्रामाडोल हाइड्रोक्लोराइड बरामद गरिएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालयका प्रवक्ता एसएसपी सुरजसेन ओलीले जानकारी दिए ।

डिआईजी कृष्ण ढकालले चोरी तस्करी नियन्त्रणमा सुराकी प्रणालीको सशक्त प्रयोग तथा निगरानीको दायरा विस्तार गरिएकोले परिणाम देखिन थालेको उल्लेख गर्दै प्रवक्ता ओलीले आम नागरिकलाई पनि सूचना दिन आग्रह गरेका छन् ।

बरामद सामान आवश्यक अनुसन्धानपछि भन्सार कार्यालय मलंगवामा बुझाइएको छ भने तस्करीमा संलग्नको खोजी तथा अनुसन्धान कार्य अघि बढाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासले जनाएको छ । मधेश प्रदेशमा पछिल्लो समय तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी कडा रुपमा प्रस्तुत भएको देखिएको छ ।