
सिरहा । मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सत्रुधन प्रसाद सिंहले शुक्रबार सिरहास्थित प्रादेशिक अस्पतालको अनुगमन गरेका छन् ।
अस्पतालको सरसफाइ, औषधिको अभावलगायत विषयमा पटक–पटक गुनासो आएपछि मन्त्री सिंह स्वयं अस्पताल पुगेका हुन् । अनुगमनका क्रममा उनले अस्पतालमा सञ्चालित सेवा, पूर्वाधार, औषधि व्यवस्था, सरसफाइ लगायतका पक्षको स्थलगत अवलोकन गरे ।






मन्त्री सिंहले अनुगमनपछि अस्पताल प्रशासन र स्वास्थ्यकर्मीलाई सेवामा लापरवाही नगर्न निर्देशन दिएका छन् । उनले भने, स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो । उपचारका लागि अस्पताल आउने कसैले पनि अपमानित महसुस गर्नु हुँदैन ।
नागरिकमैत्री व्यवहार र गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिँदै उनले अस्पताललाई व्यवस्थित र सेवा केन्द्रित बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
१५० शय्याको यो अस्पताललाई अब विशेषज्ञ सेवा दिने स्तरमा लैजान आवश्यक पहल गरिन्छ, उनले भने, विशेषगरी आइसियू, एनआइसियू, आकस्मिक कक्ष र बाहिरङ्ग सेवामा गम्भीर ध्यान दिनुपर्छ ।
उनले अस्पतालका चिकित्सक तथा कर्मचारीहरूलाई सेवा प्रवाहमा संवेदनशील र उत्तरदायी बन्न पनि आग्रह गरे ।